अप्पन जनकपुर
जनकपुरधाम । मधेसलगायत प्रदेशमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइदै छ। मंगलबार साँझ चन्द्रमालाई पूजा गरी चौरचन पर्व उल्लासपूर्वक मनाइदै छ।
भदौ चतुर्थी तिथिका दिन मनाइने यो पर्वलाई ‘चौठचन्द्र’ चौरचन भनिन्छ। संस्कृत भाषाको चतुर्थी ध्वन्यात्मक भेद्ले गर्दा चौठी वा चौठ हुन गएको हो।
लोक धारणाअनुसार भदौ शुक्ल चतुर्थीको दिन उदाउने चन्द्रमा चोर हुन्छ भनिन्छ। यस दिनको चन्द्रमाको दर्शन खाली हात गर्नु हुँदैन, यसो गरेमा दोष लाग्दछ। हातमा कुनै फल वा नैवेद्य लिई यस दिनको चन्द्रमाको दर्शन गरेमा दोष नलाग्ने मान्यतासमेत रहेको छ।
चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाञ्चलको विशिष्ट पर्व हो। चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिलि समाज विशेषतः मधेसी समाजले चन्द्रमालाई देउताका रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएको छ। ज्योतिष शास्त्रमा चन्द्र मण्डललाई जलवृष्टिको आधार मानिएको छ। यही विश्वासले मैथिल समाज कुनै पनि शुभकार्य गर्दा चन्द्रमाको स्थितिलाई महत्व दिन्छ।
मैथिल समाजको भाव, कल्पना र विचारमा चन्द्रमाको व्यापकत्व रहेका कारण मैथिल समाजले धार्मिक अनुष्ठानदेखि साहित्य, संगीत, चित्रकलालगायतका विभिन्न क्षेत्रमा चन्द्रमालाई चन्द्रदेव भनी आराधना गर्दै आएको पाइन्छ।
चन्द्रमालाई मनको देउता पनि भनिन्छ। ऋग्बेदमा धनको प्राप्ति एवं सुस्वास्थ्यका लागि चन्द्रमाको यत्रतत्र प्रार्थना गरिएको पाइन्छ। चन्द्रमाको उपासनाले कफ रोग निको हुने, वीर्य दोषबाट निवृत्ति र चञ्चल मन एकाग्र हुने धारणा पाइन्छ। योग शास्त्रअनुसार चन्द्रबिम्बमा ध्यानले विश्वको समस्त घटनाको ज्ञान साधकले सहजताले प्राप्त हुन्छ ।