 

जनकपुरधाम । मधेश प्रदेशको जनकपुरधाममा आयोजित दुई दिने श्रमाधान रोजगार मेला आइतबार सम्पन्न भएको छ । जनकपुरधामको उद्योग बाणिज्य संघको सभा हलमा आयोजित मेलामा आइतबार करिव दुई हजार पाँचसय गरी ६ हजारभन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका छन् ।
दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव दुई हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्डतर्फ ८० जना गरी जम्मा २४७ जना आवेदकलाई अन्तरवार्ताका लागि आमन्त्रण गरिएको छ ।




आयोजित मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु चार, रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको दुई तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्र समेत ६ गरी ३७ वटा स्टल राखिएको थियो ।

मेलामा श्रमाधान संवाद अन्तर्गत चारवटा प्यानलमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी संघर्षविचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल गरिएको थियो ।
नेपाल उद्योग परिसंघ मधेश प्रदेशको संयोजनमा शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको थियो । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित श्रमाधान रोजगार मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेश प्रदेशको श्रम तथा यातायत मन्त्रालय र वीरगंज महानगरपालिका, जनकपुर, कलैया, जीतपुरसीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए ।
 
                 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          