सर्लाहीबाट सशस्त्र प्रहरीद्वारा २७ लाखभन्दा मूल्य बराबरको पटाका बरामद

जनकपुरधाम । सशस्त्र प्रहरी बलले २७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरेको छ । मलंगवा नगरपालिका-४ गणेशियास्थित चिम्नीनजिकको टहरामा लुकाइराखिएको पटाका बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १० गणका प्रहरी उपरीक्षक विनोदराज खनालले गणबाट खटिएको टोलीले गणेशियास्थित चौरमा जस्ताको टहरामा शंका लागेर चेक गर्दा ठूलो मात्रामा पटाका बरामद गरिएको जानकारी दिए ।

बिज्ञापन

तिहारलाई लक्षित गरी तस्करहरूले पटाका भित्र्याएको हुन सक्ने उनले बताइ । बरामद भएको पटाकामा नागिन, भुईंचम्पा, सुतली बम, रकेटलगायतका छन् । जसको बजार करिब मूल्य २७ लाख ७७ हजार रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

‘तिहारलाई मध्यनजर गर्दै भारतबाट ल्याइएका ठूलो परिमाणको पटाका बरामद भएको हो,’ प्रहरी उपरीक्षक खनालले भने, ‘बरामद भएको पटाका आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिनेछ ।’