अप्पन जनकपुर
जनकपुरधाम । यही भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले आ–आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारहरु व्यापारीहरुको व्यापारिक प्रतिष्ठानमा पुगेर मत माग्न व्यस्त देखिएका छन् भने व्यापारीहरुले पनि अब आउने नेतृत्वसँग अपेक्षा राखिरहेका छन् ।
यसैबिच, अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले आइतबार आयोजना गरेको व्यापारीहरुसँगको भेलामा व्यापारीहरुले आफ्नो अपेक्षा व्यक्त गरेका छन् । व्यापारीहरुले आफ्नो अपेक्षा पूरा गर्ने उम्मेदवारलाई जिताउन आफूहरु प्रतिबद्ध रहेको बताए ।
युवा व्यापारी प्रशान्त झाले सुरेन्द्र भण्डारी व्यापारीहरुको पीडामा मलहम लगाउने व्यापारी नेता रहेकाले आफूहरु उनको पक्षमा लागेको बताए ।
उनले भने, ‘भण्डारी व्यापारीको पीडा हुँदा दिनरात खट्ने उम्मेदवार हुन् । उद्योग वाणिज्य संघमा व्यापारीहरुको हकहितका लागि काम गर्ने युवा व्यापारी भण्डारीलाई नेतृत्वमा देख्न चाहन्छौँ ।’
त्यस्तै, अर्का युवा व्यापारी पंकज साहले भने, ‘भण्डारी आज जसरी हामीहरु समक्ष प्रस्तुत हुनु भएको छ, त्यस्तै भोली पनि प्रस्तुत हुनु हुन्छ भन्ने अपेक्षा राख्न चाहन्छौँ । उनले हाम्रो अपेक्षा पूरा गर्ने भए उनको जीतलाई सुनिश्चित पार्न हामी पनि काम गर्न तयार छौं ।’
भण्डारीले आफूले व्यापारीहरुका लागि विगतमा अहोरात्र खटेकाले अहिले आएर व्यापारी साथीभाईसँग सहयोगको अपेक्षा राखेको बताए ।
उनले भने, ‘म ११ बुँदे योजना बनाएर काम गर्नेछु । जनकपुरधामको उद्योग, व्यवसाय तथा पर्यटनको विकासकालागि सदैव तत्पर भएर काम गर्नेछु ।’