अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा मंगलबारदेखि एक महिने मकर संक्रान्ति मेला सुरु भएको छ ।
माघ महिनाको प्रत्येक साताको आइतबार र मंगलबार लाग्ने तिला मेलाको शुभारम्भ मंगलबार नै परेको छ । धनुषाधाममा लाग्ने मकर मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिका तथा मन्दिर व्यवस्थापन समितिले गर्दै आएको छ । धनुषाधामको मक्कर मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतको विभिन्न प्रदेशबाट पनि ठूलो संख्यामा श्रद्धालु भक्तजनहरू आउने गरेको छ ।
धनुषाधाममा रहेको धनुषा मन्दिरमा पूजा अर्चना गरेको खण्डमा चिताएको सबै कुरा पुरा हुने भएकाले ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन् । त्रेता युगमा राजर्षि जनकको प्रतिज्ञा अनुसार भगवान् श्रीरामले भगवान् शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएका थिए । तीन टुक्रा मध्ये एक पाताल अर्को आकाश तथा तेस्रो धनुषाको धनुषाधाममा खसेका थिए ।
धनुषाधाममा धनुषको आकार जस्तो देखिने अलौकिक धातु अहिले पनि रहेको र सो धातु नै भगवान् शिवको पिनाक धनुष रहेको धार्मिक मान्यता रहेको कारणले तिला संक्रान्तिको मेलामा धनुषको दर्शनका लागि लाखौँ भक्तजनहरू धनुषाधाम पुग्ने गरेको छ ।