
जनकपुरधाम । उमाशंकर अरगरियाले जिल्ला नेतृत्वबाट अपमानित हुनु परेको भन्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।
उनले “आजबाट म यो पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा दिएको छु” भनी सामाजिक सञ्जालमा उल्लेख गरे ।
विसं २०७९ को निर्वाचनअघि एमाले प्रवेश गरेका अरगरिया धनुषा क्षेत्र नं. २ मा दुईपटक पराजित भए ।
१० जेठ, जनकपुर । पूर्वसांसद उमाशंकर अरगरियाले नेकपा एमाले परित्याग गरेका छन् ।
जिल्ला नेतृत्वले पटकपटक अपमान हुनु परेको र केन्द्रले आवश्यक पहल नगरेको भन्दै उनले साधरण सदस्य समेत नरहनेगरी एमाले त्यागेको जानकारी दिएका छन् ।




‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ता अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु,’ उनले लेखेका छन्, ‘यी सबै कुराहरू पटकपटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नहुँदा आजबाट म यो पार्टीको साधरण सदस्य समेत नरहनेगरी राजीनामा दिएको छु ।’

०७९ सालको निर्वाचन अघि अरगरिया एमाले प्रवेश गरेका थिए । उनलाई एमाले प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा ओली आफै आएका थिए ।
धनुषा–२ को उम्मेदवार बन्नेगरी एमाले प्रवेश गरेका अरगरियाले चुनाव जित्ने भने सकेनन् । ०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमको उम्मेदवार बनेर भारी मतान्तरले जितेका अरगरिया एमाले बनेर पराजित भएका थिए ।
०७४ को निर्वाचनमा ३२ हजार ४४ मत ल्याएर अरगरियाले जित्दा माओवादीका रामचन्द्र झाले १८ हजार ७१५ र कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए । तर एमाले प्रवेश गरेर उम्मेदवार बन्दा ०७९ को निर्वाचनमा अरगरियाले १९ हजार ९५५ मत पाउदा कांग्रेसका रामकृष्ण यादवले झिनो अन्तरले जिते । यादवले २० हजार ११२ मत ल्याएर अरगरियालाई हराएका थिए ।
गत २१ फागुनको निर्वाचनमा पनि एमालेले यही क्षेत्रमा अरगरियालाई उम्मेदवार बनाएको थियो । तर भारी मतान्तरले पराजित भए ।
रास्वपाका राम विनोद यादवले ४१ हजार ६३७ मत ल्याउँदा अरगरियाले १० हजार १५३ मत ल्याएर तेस्रो भएका थिए । दोस्रो मत कांग्रेसका दिनेशप्रसाद यादवले १० हजार १९८ मत पाएका थिए । दोस्रोपटक चुनाव हारेपछि भने अरगरियाले एमाले परित्याग गर्ने निर्णय फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।