सर्लाही । सर्लाहीको ईश्वरपुरमा स्थानीयले सोमबार प्रहरीविरुद्ध गरेको प्रदर्शनका क्रममा प्रहरीको जिपमा आगजनी गरेका छन् । गस्तीमा रहेको प्रहरीको भ्यानको ठक्करबाट ईश्वरपुृरका एक व्यवसायीको मृत्यु भएको विषयमा बिहानदेखि जारी प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीले प्रहरीको जिपमा आगो लगाइदिएका हुन् । जिपमा आगजनी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भिडलाई तितरवितर बनाएको छ ।
ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको जिपमा आगजनी भएको हो । उक्त जिप इलाका प्रहरी कार्यालय हरिपुरको भएको बताइएको छ । आगलागीबाट प्रहरी जिपको अधिकांश भाग जलेको छ । भिड तितरवितर पारेर प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
ईश्वरपुरमा प्रदर्शनले उग्ररूप लिन थालेपछि आसपका प्रहरीलाई मद्दतको लागि त्यहाँ झिकाइएको छ । मद्दतमा आएको हरिपुरको गाडिमा आगजनी भएको हो । ईश्वरपुरमा फेन्सी पसल सञ्चालन गर्ने रामकुमार महतो पसल बन्द गरेर मोटरसाइकलमा फर्कने क्रममा प्रहरीको भ्यानले ठक्कर दिएको स्थानीयको आरोप छ । प्रहरीले भने महतोले भ्यानमा मोटरसाइकल ठोक्काएको बताएको छ ।
गम्भीर घाइते भएका महतोको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवामा राति नै निधन भएको थियो । राति नै दुर्घटना भए पनि प्रहरीले बिहानमात्र जानकारी गराएको भन्दै स्थानीय आक्रोशित भएका थिए । प्रहरीले भने महतोको साथमा परिचय खुल्ने केही नभेटिएको र मोवाइल पनि लक भएकाले कसैलाई सम्पर्क गर्न नसकिएको जनाएको छ । अर्को फोनमा सिम राखेर फोन गर्न खोजे पनि सिममा कसैको नम्बर सेभ नभएकाले नसकिएको प्रहरीको भनाई छ ।