अप्पन जनकपुर
काठमाडाैं । तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।
नागरिकताअनुसार पहिला नै अवकाश पाइसक्नुपर्ने विवरण लोकान्तरले सार्वजनिक गरेपछि उनले तत्कालीन आईजीपी धीरजप्रताप सिंहसमक्ष राजीनामा बुझाएका थिए । डीआईजी सिंहले राज्यलाई ढाँटेर बढुवा लिएको तथा गलत विवरण पेश गरी सेवामा बहाल रहेको प्रमाणसहित लोकान्तरले समाचार प्रकाशन गरेको थियो ।
लोकान्तरलाई प्राप्त डीआईजी सिंहको नागरिकताको प्रतिलिपिअनुसार उनले २०७९ जेठ २२ गते वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदबाटै अनिवार्य अवकाश पाउनुपर्ने थियो । तर, उनले आफ्नो जन्ममिति ढाँटेर सेवामा बहाल रहेको र बढुवा समेत लिएको पुष्टि भएको थियो ।
नागरिकताको प्रमाणपत्रमा उनी २०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको उल्लेख थियो । उक्त समयमा १८ वर्ष पूरा हुन कम्तीमा पनि २०२४ साल जेठ २२ गते जन्मिएको हुनुपर्छ । यस हिसाबले हेर्दा २०७९ जेठ २२ गते उनी ५५ वर्षको पुग्ने देखिएको थियो ।
असोज १५ गते महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजनीमा दिनुपरेको थियो । उनले महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो ।
घटना बाहिर आएलगत्तै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको थियो । घटनाको छानबिन गर्न डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएपछि उनले कारबाहीबाट जोगिन राजीनामा दिएका थिए ।
जेठ १९ गते महिला हवल्दारले घर बिदा स्वीकृत गराउँदा उनले आफ्नो कार्यालयमा बोलाएका थिए । त्यसक्रममा उनले ‘तिमी मलाई मन पर्यो, आज गूड फ्राइडे मनाऔं’ भनको कुरा बाहिर आएको थियो । त्यसपछि पीडित महिलाले प्रहरी प्रधान कार्यालयमा उजुरी दिइएकी थिइन् ।
२०७५ माघ ३० गते प्रहरी रिपोर्ट बनाउन गएकी महिलालाई बलात्कार गरेको अभियोग लागेपछि तत्कालीन डीएसपी राजकुमार खिउजुले राजीनामा दिएका थिए । उनलाई पुर्पक्षका लागि जिल्ला अदालत ललितपुरले कारागार पठाएको थियो । पछि गएर अदालतले निर्दोष ठहर गरेपछि उनी १ वर्ष कारागार बसेर छुटेका थिए ।
प्रहरीमा माथिल्लो तहका अधिकृतहरूको राजीनामा विभिन्न अभियोग लागेर वा कैफियत भेटिएर आउने गरेको पाइएको छ । माथिल्ला अधिकृतहरूको यो अवस्था रहे पनि तल्ला तहका प्रहरी कर्मचारी भने सेवा सुविधा कम भएर राजीनामा दिन बाध्य हुने गरेका छन् । केही अर्को राम्रो अवसरको खोजीमा राजीनामा दिएर बाहिरिने गरेका छन् ।
प्रहरी प्रधान कार्यालयको आईजीपी सचिवालयमा काम गरिरहेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले डेढ वर्ष सेवा अवधि बाँकी छँदै २०७९ माघ २० गते राजीनामा दिएका थिए । उनको सेवा अवधि २०८१ भदौसम्म थियो ।
२०५१ भदौमा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका उनले संगठनमा लामो समय काम गरे पनि आगामी दिनमा अरू नै केही गर्ने उद्देश्य राखेको लोकान्तरलाई बताएका थिए । ‘रिटायर्ड भएपछि काम गर्ने जाँगर नचल्ला भनेर छिटो राजीनामा दिएको हुँ,’ प्रधानले लोकान्तरसँग भनेका थिए ।
अहिले उनले नेपालमा रहेको विदेशी राजदूतावासमा जागिर खाँदै आएका छन् । उनी मात्रै होइनन्, राम्रो अवसरको खोजीमा प्रहरीबाट राजीनामा दिनेको संख्या ठूलो छ ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो ५ वर्ष अर्थात आर्थिक वर्ष २०७५/०७६ यता ६ हजार ९८३ जनाले राजीनामा दिएका छन्, जसमा प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको संख्या मात्रै ५ हजार ३०९ छन् ।
यो अवधिमा २ जना डीआईजी, २ जना एसएसपी, ६ जना एसपी, डीएसपी १८ जना, ५४ जना इन्स्पेक्टर, ११ जना वरिष्ठ सई, ७४८ सई र १ हजार ८९ जना असईले पनि राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्मको अवधिमा ३४६ जना सम्पर्कमा आएका छैनन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार वरिष्ठ सई २ जना, सई १२ जना, असई ११ जना, प्रहरी हवल्दार ३३ जना, सहायक हवल्दार २४ जना, प्रहरी जवान २३२ जना र कार्यालय सहयोगी ३२ जना राजीनामा नदिई एवं कुनै जानकारी नगराई सम्पर्कविहीन छन् ।
सम्पर्कमा नआएका र राजीनामा दिएका तल्लो दर्जाका अधिकांश कर्मचारीले तलबले आफ्नो परिवारको जीविकोपार्जनमा समस्या भएपछि राजीनामा दिएका छन् ।
‘जवानको तलबले अहिलेको अवस्थामा के पो गर्न सकिन्छ र आफू एक्लै पनि पालिन गाह्रो भएपछि भागेर कोरिया आएको हुँ,’ २०७५ सालमा कोरिया गएका एक प्रहरी जवानले लोकान्तरसँग भने ।
उनी प्रहरीमै छँदै ईपीएस परीक्षा पास गरी कोरिया गएका थिए । विपत व्यवस्थापनमा कार्यरत रहेकाले राजीनामा स्वीकृत नहुने देखेर भाग्नुपरेको उनले बताए ।
अहिले प्रहरीका तल्लो तहका कर्मचारीहरू कमाइको नयाँ विकल्पको खोजीमा छन् । उनीहरूले १६ वर्षे उमेर हद भएको खण्डमा समयमै अवकाश पाएर वैदेशिक रोजगारीमा जान पाइने भएकाले नेपाली सेनाजस्तै उमेर हद कम हुनुपर्ने आवाज उठाइरहेका छन् ।
‘१६ वर्षे उमेर हद भयो भने मैले जागिर खाएको १३ वर्ष भयो, ३४ वर्षको भएँ, अब ३ वर्षपछि अवकाश पाएर विदेश जान पाउँथें,’ एकजना ट्राफिक प्रहरी जवानले लोकान्तरसँग भने ।
प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायत राम्रो अवसरको खोजीमा तल्लो तहका प्रहरी कर्मचारीहरूले राजीनामा दिने गरेको बताउँछन् ।
‘अधिकांशले राम्रो अवसर पाएपछि राजीनामा दिएको देखिन्छ,’ डीआईजी कडायतले लोकान्तरसँग भने ।
अन्य ठाउँमा राम्रो काम पाएकाहरू भागेर गएको उनले स्वीकारे ।
प्रहरीमा माथिल्लो तहका कर्मचारीले आफ्नो अनुकूल शक्ति प्रयोग गरेर सधैं राम्रो ठाउँमा जाने र अवसर पाउने तर तल्लो तहका कर्मचारीहरू पेलानमा पर्ने भएकाले पनि तल्लो तहका कर्मचारीहरूले राजीनामा दिने गरेको स्वयं प्रहरी अधिकृतहरू बताउँछन् ।