2024-04-30

Close

विपिन यादव
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् । गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको साप्ताहिक हाटबजार बन्द भएको थियो । त्यसयता किसानलाई आफ्ना उत्पादन बेच्नका लागि करिब पाँच किलोमिटरको दुरीमा रहेको तीनकौरिया चोकस्थित बजारसम्म पुग्न बाध्य हुनुपरेको थियो ।

दुहबी र गोबराहीको बीच भागमा पर्ने बजारमा नयाँ वर्षका दिनबाट हाट लाग्न थालेपछि आफ्ना खेतबारीमा उत्पादित बालीनाली बेच्न साताका दुईपटक पर्तिरका गाउँसम्म धाउनपर्ने किसानको विवशतामात्र सकिएको छैन, स्थानीयले गाउँमै ताजा तरकारी किन्न पाउने सुविस्ता पाएका छन् ।

गाउँको विद्यालयसँगै जोडिएको हाट सञ्चालनमा आउँदा उब्जनी बेच्न एक गाउँबाट अर्को गाउँसम्म सामग्री ओसारपसार गर्न मुश्किल हुने किसानको सकसमा विराम लागेको छ । तिनीहरूले गाउँकै हाटमा आफ्ना उत्पादन उचित मूल्यमा बेच्न पाएका छन् ।

दुहबीको कृषि हाटबजार आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्नेछ । गाउँमै कृषि हाटबजार सञ्चालन भएपछि यहाँका बासिन्दाका लागि दीपावली नै गर्ने अवसर निम्त्याएको विदेह नगरपालिकाका कार्यपालिका सदस्य शत्रुधन रायले बताए ।

उनले चार गाउँका बीचमा रहेको सो हाटबजारबाट तरकारी उब्जाउने किसानसँगै आम जनतालाई सुविधा भएको उल्लेख गरे । उनले भने, ‘चार वर्षअघि हाटबजार लाग्न छाडेपछि जनतालाई निकै अप्ठ्यारो परेको थियो । त्यसैले नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूका पहलमा कार्यपालिकाको निर्णयबाटै हामीले हाटबजार सञ्चालनमा ल्याएका हौं ।’

स्थानीय हाटबजारमा कृषि उत्पादन बेच्न महिलाको सँख्या उल्लेख्य हुन्छ । टाढासम्म पुगेर सामान बेच्दा पुरुषको तुलनामा महिलालाई बढी कष्ट बेहोर्नुपर्ने स्थिति थियो । तरकारी व्यावसायी एक महिलाका अनुसार गाउँमा हाट सुरु भएपछि छरिवरि भएर लाग्ने बजार एक ठाउँमा आएको छ ।

उनले भनिन, ‘तरकारी बेच्नकै लागि जेनतेन तीनकौरिया चोक पुग्नुपथ्र्यो । हाटबजार लाग्न थालेपछि गाउँको एक ठाउँमै सबैथोक बेच्न र किन्न पाइने भएको छ ।’

स्थानीयका अनुसार विसं २०७६ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो । उक्त हटियामा स्थानीय उत्पादन आलु, पयाज, काउली, परवल, कदिमा, तेजपत्ता, स्याउ, सुन्तलालगायत तरकारी तथा फलफूल खरिदबिक्री गर्न मानिस आउने गर्दथे ।
छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी त्यस हटियामा आउनेजाने गरेका थिए ।

‘त्यति ठूलो हाटबजार विभिन्न कारणले बन्द हुनपुग्यो, जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटकपटक हाटबजार सञ्चालन गर्न पहल गरेको थिएँ तर सफलता भने अहिले प्राप्त भएको छ,’ नगरप्रमुख बेचन दासले भने, ’स्थानीय किसानको उत्पादन खपत अब यहीँ हुनेछ । व्यावसायिक रूपमा तरकारी तथा फलफूल उब्जाउन साना किसानलाई यो हाटबजारले प्रोत्साहन दिनेछ ।’

गाउँबाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास नगरप्रमुख दासको छ ।

हाटबजार सञ्चालनमा आएपछि आफ्नो खाजा तथा किराना पसलमा चहलपहल पनि ह्वात्तै बढेर व्यापारवृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

लोप भइसकेको हाटबजार पुनर्सञ्चालनले किसान र उपभोक्ता दुवैलाई फाइदा हुने नगर उपप्रमुख आशादेवी झाले बताइन् । हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै उनले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पु¥याएको जानकारी दिइन् ।

चार बर्षभन्दा बढी समयपछि दुहबीगोबराही चोकमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिक रूपले सबल र आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । गाउँमै हाटबजार लाग्ने भएपछि उनीहरू थप मिहिनेती र उद्यमशील बन्नेछन् ।

सो हाटबजार सञ्चालन गराउन वडाध्यक्ष रामपुकार सहनी, वडाध्यक्ष रामश्रेष्ठ सहनी, कार्यपालिका सदस्य शत्रुधन राय, हरि कुसैयत, ब्रहम्देव दास, सन्तोष यादवलगायत स्थानीय बुद्विजीवीहरूले समेत पहल गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds