

बिरगंज । पर्साको कालिकामाई गाउँपालिकामा प्रशासकीय अधिकृत अमित गिरीको गैरजिम्मेवार रवैयाले स्थानीय शासनमा गम्भीर संकट उत्पन्न भएको छ । तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेका गिरीमाथि आर्थिक पारदर्शिता, स्रोतको दुरुपयोग र प्रशासनिक लापरवाहीको गम्भीर आरोप लागिरहेको छ । गिरीले पछिल्ला तीन आर्थिक वर्षको आय-व्यय विवरण सार्वजनिक नगरेको खुलेको छ । योजनाहरूको विवरण, बजेट विनियोजन, खरिद प्रक्रिया आदिबारे गाउँपालिकाको आधिकारिक वेबसाइटमा कुनै पनि अद्यावधिक जानकारी नहुनु सूचना अधिकार ऐनको समेत उल्लंघन हो । यसले न केवल कानुनी चरित्र बिगार्दछ, जनताप्रति प्रशासनको उत्तरदायित्वमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष के देखिएको छ भने, प्रशासकीय अधिकृत गिरी वर्षभरिमा पाँच–छपटक मात्र कार्यालय पुग्ने गरेका छन् । तर, उनी प्रयोग गर्दै आएको स्कार्पियो गाडीको मासिक एक लाख रुपैयाँ भाडा भने गाउँपालिकाको बजेटबाट नियमित तिरेको तथ्य सार्वजनिक भएको छ । कार्यालय नगइकन पनि सार्वजनिक स्रोतको दुरुपयोग गर्नु भ्रष्टाचारको प्रत्यक्ष प्रमाणका रूपमा हेरिएको छ ।




२०७९ सालमा जनदबाबपछि जारी गरिएको “सुशासन निर्देशिका” कार्यान्वयनमा लापरवाही देखिएको छ । पारदर्शिता, जवाफदेहिता र स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित ल्याइएको १९ बुँदे कार्ययोजनालाई व्यवहारमा उतार्ने कुनै प्रयास भएको देखिँदैन ।

स्थानीय बुद्धिजीवी, युवाहरू, महिला समूह, पिछडिएको समुदाय, राजनैतिक दलहरू तथा सामाजिक संघ-संस्थाहरू मिलेर भ्रष्टाचार विरुद्ध खबरदारी अभियान सुरु गर्ने तयारीमा छन् । “हामी कर तिर्छौं, जवाफ माग्न पाउँछौं” भन्ने नारासहित बढ्दो जनदबाबका बीच गाउँपालिकाले अब ढिलाइ गर्न नपाउने अवस्थामा पुगेको छ ।
कालिकामाई गाउँपालिका प्रशासनलाई तत्काल निम्न कार्यहरू गर्न नागरिक समाजले जोडदार माग राखेको छ ।
सबै योजनाको लागत, प्रगति तथा खर्च विवरण सार्वजनिक गर्नु, कर्मचारीहरूको उपस्थितिको डिजिटल अभिलेख राख्नु, गाडी भाडा, प्रशासनिक खर्चलगायत सबै आर्थिक विवरण पारदर्शी बनाउनु, प्रशासकीय प्रमुखको नियमित कार्यालय उपस्थिति सुनिश्चित गर्नु ।
कालिकामाई गाउँपालिका अब यस्तो मोडमा आइपुगेको छ जहाँ सुशासन, पारदर्शिता र जवाफदेहिताको माग केवल नारामा सीमित रहन सक्दैन । जनताको करबाट चल्ने संस्थाहरू जनताप्रति उत्तरदायी हुनु आवश्यक छ । अबको यथार्थ यही हो—शासक होइन, सेवक बन्नुपर्ने हो ।