अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नं. १ मुसहरनियाँमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा फरक दृश्य देख्न सकिन्छ ।
कक्षा ८ सम्म पढाई हुने सो विद्यालयको भवनमा वडा कार्यालय र प्रहरी चौकी संचालन रहेका छन् । विद्यालय भवनमा प्रहरी चौकी रहेकाले कैदीहरू आउने जाने गरिरहन्छन् । प्रहरी चौकीमा थुनुवा कक्ष नभएकोले पक्राउ परेका अभियुक्तलाई खुला रूपमा प्रहरी चौकी झ्यालमा हतकडी बाँधेर राखिएको हुन्छ ।
सीमा क्षेत्रको मुखियापट्टिमा हुने विवादहरु चौकीमा जाँदा भीड लाग्ने गर्छ । सामान्य झैझगडामा पनि स्थानीय प्रहरी चौकी पुग्छन् । त्यस्ता घटनालाई मिलाउन दिनहुँ प्रहरी चौकीमा बैठक हुने गर्छ । विद्यालय भवनमा रहेका कारण प्रहरी चौकीमा हुने त्यस्ता गतिविधिबाट कलिला विद्यार्थीलाई असर परिरहेको हुन्छ ।
कतिपय विवादले प्रहरी चौकीमा चर्काचर्कीको रुप लिन्छ । जसले कक्षा कोठामा पढिरहेका विद्यार्थीलाई एकाएक झैझगडाका विषयतिर ध्यान मोडिदिन्छ । प्रहरी चौकीमा विभिन्न आपराधिक प्रकृतिका मुद्दाहरू हुँदा पीडित र पीडक आएपछि पठनपाठन प्रभावित हुने गरेको स्थानिय बताउँछन् ।
भीडभाड, होहल्ला हेर्ने सुन्ने विद्यार्थीहरूको स्वभाव नै हुन्छन् । प्रहरी चौकीको होहल्लाले पढ्न छाडेर बालबालिका होहल्ला हेर्न जाने गर्छन् । प्रहरी चौकी र विद्यालयबीच कक्षा सञ्चालनको समयमा कुनै प्रकारका बैठक नगर्ने सम्झौता भए पनि अचानक हुने घटनाका कारण उत्पन्न परिस्थितिलाई आफूहरूले रोक्न नसक्ने उनले बताए । उक्त विद्यालयमा नियमित करिब साढे तीन सय बालबालिका पढ्न आउँछन् ।
प्रहरी चौकी हटाउन विद्यालयका शिक्षकले पटकपटक गाउँपालिका अध्यक्षलगायत विभिन्न संघसंस्था तथा नेतासमक्ष अनुरोध गरे पनि कुनै निकायबाट अहिलेसम्म पहल नभएको एक शिक्षकले बताए ।
दुई वटा कोठामा ६ जना प्रहरी कोच्चिएर बसेका हुन्छन् । कार्यालय सञ्चालनका साथै बस्नमा प्रहरीलाई समेत समस्या छ । थुनुवा कक्ष नहुँदा आरोपीलाई पक्राउ गरी बाहिर गेटमा हतकडी लगाएर राख्नुपर्ने बाध्यता छ ।
विद्यालय भवनमा प्रहरी चौकी मात्र होइन वडा नं. १ को वडा कार्यालय समेत छ । जहाँ सेवाग्राहीको दिनहुँ भीड लाग्ने गर्छ । सँगै रहेको तीन कोठे भवनको एक कोठामा वडा कार्यालय रहेको छ । जसले पूरै विद्यालय क्षेत्र नै प्रभावित हुँदै आएको छ ।