
विपिन यादव
जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा सर्वसाधारणहरु फेरी डुंगामा यात्रा गर्न बाध्य भएका छन् ।
डुंगामा मोटरसाइकल, साईकल र पैदल यात्रीलाई आरपार गर्छन् । साइकल र मोटरसाईकल आरपार गर्दा डुंगा चलाउनेले १ सय रुपैयाँ लिँदै आएका छन् ।




भासिएको कमला पुल अलपत्र परेको छ । पुलको पूर्वतिर नदीमा पानी बग्न थालेपछि यो पनि वर्ष डुंगामा चढ्नुपर्ने अवस्था आएको छ । हुलाकी सडक अति व्यस्त मानिन्छ । तर कमला नदीमा पुल नहुँदा ठूलो सास्ती र जोखिम मोल्नुपरेको यात्रीहरू बताउँछन् ।

डुंगामा ८ वटासम्म मोटरसाईकल र दर्जनौँ व्यक्ति चढाउने गरिएको छ । एक त डुंगा जीर्ण, त्यसमा पनि क्षमताभन्दा बढी गाडी र मानिस चढाउने गरेकाले यात्रा गर्दा डर लाग्ने गरेको एक यात्रुले बताए ।
उनले डुंगाको क्षमता हेरेर कति गाडी र कति मानिस चढाउन पाउने कुरा स्थानीय प्रशासनले तोकेर यात्रा सुरक्षित गर्नुपर्ने बताए । कमला नदीमा यात्रुहरू कसरी यात्रा गर्छ भन्ने कुरामा प्रशासन र बालेन सरकारको ध्यान नपुग्नु दुःखद रहेको उनको भनाई छ ।
उनले भने, यात्रुको यति धेरै बढी चाप हुने हुलाकी सडकमा पर्ने नदीमा पुल नबन्नु विडम्बना हो, केहि दिन पहिले युवाहरुले अनसन बस्दा मधेश सरकारले नयाँ पुल बनाउने सहमति भयो । यो सहमति अनुसार तत्कालै पुल निर्माण प्रक्रिया अगाडी बढाउनुपर्दछ । धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुलको पुनर्निर्माण आर्थिक वर्ष २०८३/८४ को बजेटमा नसमेटिएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पुल पुनर्निर्माणको विषय यतिबेला धनुषा र सिरहामा चासो र चर्चाको विषय बनेको छ । बालेन सरकार गठनसँगै कमला पुल पुनर्निर्माणको काम अघि बढ्ने अपेक्षा गरेका थिए । तर, चालु आर्थिक वर्षको बजेटमा पुल पुनर्निर्माणका लागि रकम विनियोजन नभएपछि निराशा बढेको छ । नयाँ पुल निर्माणका लागि मधेश प्रदेश सरकार र सङ्घीय सरकारले चासो नदिए जनस्तरबाटै चन्दा सङ्कलन गरेर भए पनि नयाँ पुल निर्माणको अभियान चलाउनुपर्ने अवस्था आएको छ ।
