जनकपुर बोल्ट्सले आसिफलाई रिलिज गर्‍यो, यी हुन् रिटेन भएका ५ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२६ का लागि पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई रिलिज गरेको छ ।

जनकपुर बोल्ट्सले बिहीबार रिटेन र रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको हो । आसिफ रिलिज गर्दा जनकपुर बोल्ट्सले ५ खेलाडी रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा कप्तान अनिल साह, मयन यादव, ललित राजवंशी, आदित्य महता र विकास आग्री छन् ।

बिज्ञापन

जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता हो । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो । दोस्रो संस्करणमा भने जनकपुर बोल्ट्सले खराब प्रदर्शन गर्दै लिग चरणबाटै बाहिरिएको थियो ।

एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ । एनपीएलको मिनी अक्सन पनि चाँडै हुने जनाइएको छ ।