

रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप समेत लगाएका छन् ।
माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका पासवानलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर रेफर गरेको छ ।




भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको उल्लेख गरेका छन् । तर दुवै परिवारले उक्त सम्बन्ध अस्वीकार गरेको उनले बताए । साथै, रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोप पनि लगाएका छन् ।

गत शनिबार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए । आत्मदाह प्रयासअघि उनले भिडियोमार्फत आफू र रुबीबीच लामो समयसम्म कुराकानी भएको र अन्ततः दुवैजनाले मर्ने निर्णय गरेको दाबी गरेका छन् ।
“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन् । अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन् । साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन आग्रहसमेत गरेका छन् ।
हाल गम्भीर घाइते अवस्थामा रहेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।