
जनकपुरधाम । सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुलको पुनर्निर्माण आर्थिक वर्ष २०८३/८४ को बजेटमा नसमेटिएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पुल पुनर्निर्माणको विषय यतिबेला सिरहा र धनुषामा चासो र चर्चाको विषय बनेको छ ।
जनदबाब र आन्दोलनपछि कमला पुल निर्माणका लागि तत्कालीन युवा तथा खेलकुदमन्त्री तथा हाल सिरहा–१ का सांसद बब्लु गुप्ता, सिरहा–२ का सांसद शिवशंकर यादव, सिरहा–४ का सांसद तपेश्वर यादव तथा समानुपातिक सांसद पुरुषोत्तम यादवले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग पुलको स्थलगत निरीक्षण गरी तत्कालीन तथा दीर्घकालीन समाधानको आश्वासन दिनुभएको थियो ।




स्थानीयवासीले नयाँ सरकार गठनसँगै कमला पुल पुनर्निर्माणको काम अघि बढ्ने अपेक्षा गरेका थिए । तर, चालु आर्थिक वर्षको बजेटमा पुल पुनर्निर्माणका लागि रकम विनियोजन नभएपछि निराशा बढेको छ ।

स्थानीय पत्रकार बद्रीनारायण यादवले बजेटमा पुल पुनर्निर्माणका लागि कुनै व्यवस्था नगरिनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँजस्तै सयौँ सचेत नागरिकले सामाजिक सञ्जालमार्फत पनि आफ्नो चिन्ता व्यक्त गरेका छन् ।
सिरहा नगरपालिका–५ का वडाध्यक्ष जागेश्वर यादवले भन्नुभयो, “पाँच वर्षअघि उद्घाटन हुनुअघि नै भासिएको कमला पुल अझै निर्माण हुन सकेको छैन । पुल कहिले बन्ने भन्ने टुङ्गोसमेत छैन । लुम्बिनी बिल्डर्सले गरिरहेको मर्मत तथा पूर्वतर्फका केही पायाको निर्माण कार्य पनि सन्तोषजनक देखिएको छैन ।”
उहाँले आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुल पुनर्निर्माणका लागि रकम नछुट्याइँदा स्थानीयको आशा निराशामा परिणत भएको बताउनुभयो ।
स्थानीय देवकुमार यादवका अनुसार सिरहा र धनुषालाई जोड्ने मात्र नभई मधेशको जीवनरेखा मानिएको हुलाकी राजमार्गको कमला पुल भासिएपछि सम्पूर्ण क्षेत्रको आवागमन र आर्थिक गतिविधि प्रभावित भएको छ । उहाँले पुलको समस्याले आर्थिक, सामाजिक तथा राजनीतिक असरसमेत परेको बताउनुभयो ।
उहाँका अनुसार निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाउने जोखिममा छ । साथै, कमला नदीको पश्चिमतर्फ धनुषा क्षेत्रमा करिब ५० मिटर कटान भइसकेकाले आगामी वर्षायाममा ठुलो धनजनको क्षति हुन सक्ने खतरा बढेको छ ।
सिरहाका युवाले मधेश प्रदेश सरकारलाई कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्री कार्यालयमा अनशन बसेपछि तत्कालीन मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ पुल निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने लिखित प्रतिबद्धता जनाउनुभएको थियो । तर, सोअनुसार काम अघि नबढेको भन्दै प्रदेशसभा सदस्य सञ्जय यादवले प्रदेशसभामा पटक–पटक आवाज उठाउँदै आएको बताउनुभयो ।
कमला पुल पुनर्निर्माणका लागि बजेट किन विनियोजन गरिएन भन्ने जिज्ञासामा प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले पुल निर्माणका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कमला पुल सञ्चालनमा नआउँदै भासिएकाले ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सलाई बीमा रकमसमेत उपयोग गरी मर्मत कार्यमा लगाइएको छ । आवश्यक परे अन्य शीर्षकको बजेट व्यवस्थापन गरेर भए पनि पुल सञ्चालनमा ल्याइनेछ । सरकारले तीन वर्षभित्र हुलाकी राजमार्ग पूर्ण सञ्चालन गर्ने लक्ष्य लिएको छ, जुन कमला पुलको मर्मत वा पुनर्निर्माणबिना सम्भव छैन ।”
हुलाकी सडक निर्माण सङ्घर्ष समितिका संयोजक तथा वरिष्ठ लेखक एवं सिरहा विकास मञ्चका अध्यक्ष रामरिझन यादवले भासिएको पुलमा थप लगानी गर्नु बालुवामा पानी खन्याउनु सरह भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुल निर्माणको जिम्मा लिएको लुम्बिनी बिल्डर्सलाई कारबाही गरी नयाँ पुल निर्माणका लागि मधेश प्रदेश सरकार र सङ्घीय सरकारले चासो नदिए जनस्तरबाटै चन्दा सङ्कलन गरेर भए पनि नयाँ पुल निर्माणको अभियान चलाउनुपर्ने अवस्था आउन सक्छ ।”
स्थानीयवासीका अनुसार वर्षायामअघि समस्या समाधान नभए यस वर्ष पनि किसानलाई कमलापारिका खेतमा खेतीपाती गर्न कठिनाइ हुनेछ । १४ वर्षअघि निर्माण सम्झौता भए पनि पुल अझै सञ्चालनमा आउन नसक्दा स्थानीयले निरन्तर सास्ती खेपिरहेका छन् ।
२०७८ असार १७ गते आएको बाढीका कारण निर्माण सम्पन्न भई उद्घाटनको तयारीमा रहेको पुल भासिएको थियो । पुल निर्माणका लागि २०६८ जेठमा लुम्बिनी जेभीसँग १४ करोड ९१ लाख रुपियाँमा सम्झौता गरिएको थियो । २०७१ मङ्सिरमै सम्पन्न हुनुपर्ने पुल हालसम्म प्रयोगविहीन छ । सात पटक म्याद थपिएको पुलमा हालसम्म करिब २० करोड ४३ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।