मधेशमा बदलिँदो अपराधको स्वरूप : लागुऔषध, आत्महत्या र विपदका घटनामा वृद्धि

जनकपुरधाम । मधेश प्रदेशमा परम्परागत अपराधहरू घट्दै गएका छन् । बदलिँदो स्वरूपमा विकसित भइरहेका अपराधहरूको दर भने बढिरहेको पाइएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको ताजा समीक्षामा प्रदेशको शान्ति–सुरक्षा अवस्था सामान्य देखिए पनि लागुऔषध कारोबार, आत्महत्या र सामाजिक अपराधहरूमा चिन्ताजनक वृद्धि देखिएको छ ।

२०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा आठ जिल्लामा कुल १२ हजार ५६५ मुद्दा दर्ता भएका छन् । तीमध्ये ४५८ मुद्दा लागुऔषधसँग सम्बन्धित छन्, जुन कुल मुद्दाको झण्डै ४ प्रतिशत हो । प्रदेश प्रहरीका अनुसार पछिल्लो वर्ष मात्रै २५ हजार किलोभन्दा बढी गाँजा, ४०८ किलो चरेस, ३ किलो ब्राउन सुगर, ४६ किलो अफिम र करिब ३ लाख ५० हजार थान लागुऔषध ट्याब्लेट, इन्जेक्सन र बोतल बरामद गरिएको छ । बरामद लागुऔषधको बजार मूल्य २२ करोड रुपैयाँभन्दा बढी रहेको प्रहरीको दाबी छ ।

बिज्ञापन

प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदीले भने, समस्या गहिरिँदो छ, हामी नियन्त्रण प्रयास गरिरहेका छौं । तर प्रहरीको प्रयास मात्र पर्याप्त छैन ।

लागुऔषध कारोबार जत्तिकै गम्भीर समस्या आत्महत्या पनि बनिरहेको छ । गत आर्थिक वर्षमा मधेस प्रदेशमा ७२८ जनाले आत्महत्या गरेका छन्, जसमा पुरुषको संख्या बढी छ । घरेलु हिंसा, बेरोजगारी, प्रेम सम्बन्धमा विफलता, मानसिक तनाव र वैदेशिक रोजगारको असफलता प्रमुख कारणका रूपमा देखिएका छन् ।

गत वर्ष कर्तव्य ज्यानसम्बन्धी ९८ मुद्दा दर्ता भएका छन्, जसमा ८१ मुद्दाको अनुसन्धान सम्पन्न भइसकेको छ । प्रहरीले ५ हजार ८११ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ भने १६ वटा साना र १९ वटा ठूला हतियार बरामद गरिएको छ ।

प्रदेशमा सडक सुरक्षाको अवस्था पनि कमजोर देखिएको छ । २८९ वटा सडक दुर्घटनामा ३२१ जनाको मृत्यु भएको छ। सवारी नियमको उल्लंघन, कमजोर चेकिङ र अन्धाधुन्ध सवारी प्रयोग दुर्घटनाको मुख्य कारण हो,” डिआइजी चतुर्वेदी भन्छन् । ट्राफिक नियम उल्लंघनबाट १८ करोड ३७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ ।

तराई क्षेत्रमा सवारी दुर्घटनासँगै अन्य अप्रत्याशित विपदहरूमा पनि जनधनको क्षति भइरहेको छ । प्रहरीका अनुसार पोखरीमा डुबेर २१५ जना, करेन्ट लागेर १३८ जना र आगलागीबाट १९ जनाको मृत्यु भएको छ । माछापोखरी जथाभावी खन्ने र सुरक्षा नअपनाउने कारण बालबालिकाले ज्यान गुमाउने क्रम बढ्दो छ ।

प्रदेशमा यदाकदा साम्प्रदायिक र राजनीतिक तनावहरू देखिए पनि सतर्कताका कारण ती घटनाहरू न्यूनीकरण भएका छन् । तर डिआइजी चतुर्वेदीका अनुसार यस्तो अवस्था जुनसुकै बेला पुनः भड्किन सक्ने खतरा कायमै छ ।