हुलाकी सडकको कमला पुल १४ वर्षदेखि अलपत्र

जनकपुरधाम । सिरहा र धनुषा जिल्लाको सीमाना पार गर्दै बग्ने कमला नदीमा २०६८ सालमा सुरु गरिएको स्थायी पक्की पुलको निर्माण कार्य अहिलेसम्म पुरा भएको छैन ।

प्रारम्भिक योजना अनुसार करिब तीन वर्षमै सम्पन्न गर्ने भनिएको पुल १४ वर्ष बित्दा पनि अधुरो छ । यसले वर्षायाममा यहाँका बासिन्दालाई जल–कैदमा पार्ने गरेको छ ।

बिज्ञापन

स्थानीयका अनुसार वर्षा सुरु भएलगत्तै नदीको पानी बढ्छ र आवतजावतका लागि डुङ्गामात्र विकल्प रहन्छ । सिरहा नगरपालिका–३ का किसान किशुनदेव यादव भन्छन्, बर्खामा गाईवस्तुलाई घाँसपात गर्न नदी पार गर्नु निकै जोखिम हुन्छ । डुङ्गा चढ्दा पनि ज्यान धरापमा पर्छ । तर, अरू उपाय नै छैन ।

पहिले वर्षाबाहेकको समयमा काठको सानो पुल प्रयोग गरिने गरिए पनि बर्खामा आएको बाढीले वर्षौंअघि त्यो पुल बगाएको हो । त्यसपछि यहाँका बासिन्दा प्रतिमोटरसाइकल १०० रुपैयाँ र प्रतिव्यक्ति ५० रुपैयाँ तिरेर मात्र डुङ्गामा नदी पार गर्न बाध्य छन् ।

स्थायी पुल नहुँदा समस्या केवल यातायातमै सीमित छैन । सिरहा अस्पतालबाट जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएका बिरामीलाई घुमाउरो बाटो हुँदै जानुपर्ने बाध्यता छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुनिल प्रसाद कुशवाहाका अनुसार पुल नहुँदा गम्भीर बिरामी समयमै अस्पताल नपुग्दा बाटैमा मृत्युको जोखिम हुन्छ ।

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल बनेको भए बजार र बस्तीबीचको दूरी आधा मात्र हुने थियो । अहिले त पैदलयात्रीले बाँसको फड्के, टायर ट्युब वा डुङ्गाको सहारा लिनुपर्छ । यो केवल यातायातको सवाल मात्र नभई विकासको सवाल हो, उनले भने ।

यो पुल निर्माणको शुरुवात २०६८ सालमा भएको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्ती, बजेट विनियोजनमा समस्या र ठेक्का प्रक्रियामा बारम्बार जटिलता आउँदा योजना वर्षौं अलपत्र रह्यो । स्थानीयले पुल निर्माणका विषयमा पटक–पटक आन्दोलन, ज्ञापनपत्र र दबाब कार्यक्रम भए पनि समाधान नभएको बताए ।

कमला नदीमा स्थायी पुल नहुँदा जनजीवन मात्र नभई जिल्लाको आर्थिक–सामाजिक विकासमा पनि ठुलो असर परेको छ । स्थानीय सरोकारवालाहरू भन्छन्, यो पुल दुई किनार मात्र जोड्ने संरचना होइन । यसले स्वास्थ्य, शिक्षा, बजार र रोजगारीमा पहुँच बढाउनेछ । तर, यो सपना १४ वर्षदेखि कागजमै थुनिएको छ ।