
जनकपुरधाम । धनुषा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणमा प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई थपप्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका विषयमा प्रहरीका प्राथमिकता र योजनाबारे जानकारी गराएका थिए ।




एसपी खड्काले समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण तथा सामाजिक विकृति विसंगति न्यूनीकरणका लागि प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

उनले जनचेतना अभिवृद्धि, तथ्यपरक सूचना प्रवाह तथा अपराध नियन्त्रणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरे ।
उनले प्रहरी र सरोकारवाला निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउँदै सुरक्षा चुनौतीहरूको प्रभावकारी व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनचेतनामूलक अभियानमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तरक्रियाका क्रममा आपसी परिचय, अनुभव आदानप्रदान तथा समसामयिक सुरक्षा चुनौतीबारे समेत छलफल भएको थियो ।
कार्यक्रममा प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै धनुषाको शान्ति सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।