
जनकपुरधाम । जनकपुरधाम नजिकै रहेको एक निजी वाटरपार्कमा पछिल्लो समय सञ्चालन हुँदै आएका अर्केस्ट्राजन्य गतिविधि तथा नृत्यप्रधान मनोरञ्जनात्मक कार्यक्रमलाई लिएर स्थानीय स्तरमा बहस सुरु भएको छ ।
केही नागरिक, अभिभावक तथा सामाजिक अभियन्ताले यस्ता कार्यक्रमले परिवारिक वातावरण, सामाजिक मर्यादा तथा स्थानीय सांस्कृतिक संवेदनशीलतामाथि असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।




जनकपुरधामबाट करिब ८–९ किलोमिटर दूरीमा अवस्थित रमदैयामा सञ्चालित उक्त मनोरञ्जन केन्द्रमा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

विशेषगरी परिवार, बालबालिका तथा युवायुवतीहरू मनोरञ्जनका लागि पुग्ने यस स्थानमा पछिल्लो समय अर्केस्ट्राजन्य गतिविधि सञ्चालन हुन थालेपछि यसको सामाजिक प्रभावबारे प्रश्न उठ्न थालेका हुन् ।
स्थानीयवासीको भनाइमा वाटर पार्क जस्तो स्थान मूलतः परिवारिक मनोरञ्जन, बालबालिकाको घुमफिर र सामाजिक भेटघाटका लागि उपयुक्त मानिन्छ । तर, त्यही स्थानमा दर्शक आकर्षित गर्ने उद्देश्यले अत्यधिक नृत्यप्रधान कार्यक्रमहरू सञ्चालन गरिँदा यसको उद्देश्य र चरित्र नै परिवर्तन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
परिवारिक गन्तव्य कि मनोरञ्जन केन्द्र??
जनकपुरधाम र आसपासका जिल्ला तथा भारतको बिहारबाट ठूलो सङ्ख्यामा परिवारसहित मानिसहरू उक्त वाटर पार्क पुग्ने गरेका छन् ।
अभिभावकहरूका अनुसार उनीहरू बालबालिकालाई जलक्रीडा, घुमफिर र मनोरञ्जनका लागि त्यहाँ लैजान्छन् । तर, सोही परिसरमा हुने कतिपय प्रस्तुतिहरूले परिवारिक वातावरणसँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा बहस आवश्यक भएको उनीहरूको भनाइ छ ।
स्थानीय एक अभिभावक भन्छन्, ‘मनोरञ्जनको विरोध गर्नु उचित होइन । तर, परिवार र बालबालिकाको उपस्थितिमा हुने कार्यक्रममा प्रस्तुतिको स्तर, भाषा, हाउभाउ तथा समग्र वातावरणबारे संवेदनशीलता अपनाइनुपर्छ । सार्वजनिक स्थलमा हुने कार्यक्रमले समाजलाई कस्तो सन्देश दिन्छ भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।’
‘कुनै पनि मनोरञ्जनात्मक गतिविधिलाई आर्थिक लाभको दृष्टिले मात्र हेर्नु हुँदैन । त्यसले स्थानीय समुदाय, युवापुस्ता र बालबालिकाको मनोविज्ञानमा पार्ने प्रभावबारे पनि विचार गर्नुपर्छ,’उनले भने ।
बालबालिकामाथि कस्तो असर पर्न सक्छ??
बालमनोविज्ञानका क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार बालबालिकाले आफूले देखेका व्यवहार र गतिविधिबाट धेरै कुरा सिक्ने गर्छन् । उनीहरूको उमेरअनुसार उपयुक्त सामग्री र वातावरण उपलब्ध गराउनु अभिभावक तथा समाज दुवैको जिम्मेवारी हो ।
यदि परिवारिक गन्तव्यका रूपमा प्रचार गरिएको स्थानमा उमेरअनुसार उपयुक्त नठहरिने सामग्री प्रस्तुत गरिन्छ भने त्यसले अभिभावकलाई असहज मात्र नभई बालबालिकामा गलत सन्देश जाने सम्भावना पनि रहन्छ ।
उनीहरूका अनुसार मनोरञ्जन र अशोभनीयता एउटै कुरा होइनन् । कला, संगीत र नृत्य समाजको अभिन्न अंग भए पनि प्रस्तुतीकरणको शैली, स्थान र दर्शकको प्रकृतिलाई ध्यानमा राख्नुपर्छ ।
स्थानीय संस्कृति र सामाजिक संवेदनशीलताको प्रश्न??
जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको शहरका रूपमा परिचित छ ।
मिथिला सभ्यता, परम्परा, संस्कार र धार्मिक पर्यटनसँग जोडिएको यस क्षेत्रको आफ्नै सामाजिक विशेषता रहेको छ ।
यही कारण कतिपय नागरिकले स्थानीय सांस्कृतिक परिवेशलाई ध्यानमा राखेर मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राखेका छन् ।
उनीहरूका अनुसार आधुनिक मनोरञ्जन आवश्यक भए पनि त्यसले स्थानीय संस्कृति र सामाजिक मान्यतालाई ओझेलमा पार्नु हुँदैन ।
कतिपयले प्रश्न उठाएका छन् कि दर्शक तान्नका लागि बारम्बार महिला नृत्य प्रस्तुतीलाई नै मुख्य आकर्षण बनाउनु आवश्यक छ वा छैन । स्थानीय कलाकार, लोकसंस्कृति, सांगीतिक प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिन सकिने उनीहरूको तर्क छ ।
आर्थिक लाभ र सामाजिक उत्तरदायित्व??
पर्यटन तथा मनोरञ्जन उद्योगले रोजगारी सिर्जना गर्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने भएकाले यसको महत्व अस्वीकार गर्न सकिँदैन । निजी क्षेत्रले लगानी गरेर नयाँ गन्तव्य निर्माण गर्नु सकारात्मक पक्ष हो ।
तर, व्यवसाय सञ्चालन गर्दा सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुने सरोकारवालाहरू बताउँछन् । मात्र दर्शक सङ्ख्या बढाउने वा आर्थिक लाभ हासिल गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिँदा त्यसको सामाजिक प्रभावबारे पनि मूल्याङ्कन हुनुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरूका अनुसार पैसा कमाउने थुप्रै मर्यादित र समाजमैत्री माध्यमहरू छन् । दीर्घकालीन रूपमा सफल हुन व्यवसायले स्थानीय समुदायको विश्वास जित्नुपर्छ । यदि समुदायमै असन्तुष्टि बढ्दै गयो भने त्यसले अन्ततः व्यवसायलाई नै असर पुर्याउन सक्छ ।
यस सम्बन्धमा वाटर पार्कका सञ्चालक गुड्डु जैनले भने सामाजिक सञ्जाल र केही वृत्तमा उठाइएका आरोपहरूलाई अस्वीकार गरेका छन् ।
उनका अनुसार वाटर पार्कमा सञ्चालन हुने सम्पूर्ण कार्यक्रम कानुनी प्रक्रिया र सम्बन्धित निकायको जानकारीमा रहेर सञ्चालन हुँदै आएका छन् ।
मनोरञ्जनका लागि आउने आगन्तुकको माग र आवश्यकतालाई ध्यानमा राख्दै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने गरिएको उनको भनाइ छ ।
जैनले कुनै पनि प्रकारको अश्लील वा गैरकानुनी गतिविधि हुन नदिइएको दाबी गर्दै सामाजिक सञ्जालमा फैलाइएका कतिपय टिप्पणीहरू अतिरञ्जित र तथ्यहीन रहेको बताए ।
उनले कार्यक्रमहरूमा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको तथा परिवारसहित आउने आगन्तुकको सुविधालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको पनि दाबी गरे ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले उक्त वाटर पार्कमा सामाजिक सञ्जालमा चर्चा भएजस्ता गतिविधि भइरहेको विषयमा आफूलाई औपचारिक रूपमा जानकारी नभएको बताए ।
उनले भने, ‘उक्त वाटर पार्कमा यस्ता गतिविधि भइरहेको भन्ने विषयमा हालसम्म प्रहरीलाई कुनै औपचारिक जानकारी वा उजुरी प्राप्त भएको छैन । सामाजिक सञ्जालमा विभिन्न किसिमका चर्चा र टिप्पणीहरू देखिएका छन् । तर, प्रहरीले तथ्यका आधारमा मात्र काम गर्छ । यदि सार्वजनिक मर्यादा, कानुन वा शान्ति सुरक्षासँग सम्बन्धित कुनै गतिविधि भएको पाइएमा आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।’
डिएसपी न्यौपानेले सार्वजनिक स्थलमा सञ्चालन हुने कार्यक्रमहरू कानुनी मापदण्डभित्र हुनुपर्ने उल्लेख गर्दै सम्बन्धित निकायबाट कुनै गुनासो प्राप्त भए वा अनुगमनका क्रममा कुनै अवाञ्छित गतिविधि भेटिए कानुनअनुसार आवश्यक कदम चालिने बताए ।
उनले मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्नु स्वाभाविक भए पनि सार्वजनिक स्थानमा हुने गतिविधिहरूले स्थानीय समुदाय, परिवार तथा बालबालिकामा पार्न सक्ने प्रभावलाई आयोजक पक्षलेसमेत ध्यान दिनुपर्ने धारणा राखे ।