अप्पन जनकपुर
जनकपुरधाम । ‘सुरक्षित सडक, सुरक्षित मधेश प्रदेश’ भन्ने मूल नाराका साथ जनकपुरधाममा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन प्रवद्र्धनका उद्देश्यले सडक सुरक्षा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गत श्रम तथा यातायात मन्त्रालयको निर्देशन तथा यातायात व्यवस्था कार्यालय जनकपुरधामको आयोजनामा ट्राफिक प्रहरी र स्थानीय तहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले गरेका थिए भने श्रम तथा यातायात मन्त्री कौशल किशोर राय प्रमुख अतिथिका रूपमा सहभागी थिए । विशिष्ट अतिथि मन्त्रालयका सचिव युवराज अधिकारी रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले सडक दुर्घटनालाई ’नियति’ को रूपमा स्वीकार्नुको सट्टा सचेत प्रयासद्वारा न्यूनीकरण गर्न सकिने बताए ।
‘सडक सुरक्षा हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । ट्राफिक नियमको पालनामा हामी सबैको साझा दायित्व छ,’ मन्त्री रायले भने ।
उनले प्रदेशमा दुर्घटनाको दर घटाउन सम्बन्धित सबै निकायहरूबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, विद्यालय र सामाजिक संघ–संस्थाको सहकार्यमा व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी उमाप्रसाद चतुरर्वेदी, जिल्ला प्रहरी कार्यालय धनुषा प्रमुख एसपी नरहरि रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा प्रमुख इन्स्पेकटर सुर्यबहादुर शाही लागायतका सहभागी वक्ताहरूले ट्राफिक अनुशासन, जनसहभागिता, दुर्घटना न्यूनिकरण उपाय र सुरक्षित यात्राका विविध पक्षमाथि धारणा राखेका थिए ।