क्यानडा नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित

काठमाडौं । फेडरेशन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभाबाट युवा व्यवसायी गोकर्ण लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्।

क्यानडामा रहेका नेपाली व्यवसायीहरूको साझा संस्था रूपमा विगत ६ वर्षदेखि सक्रिय रहँदै आएको यस संस्थाले नेपाल र क्यानडाबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्न दुवै देशका सरकारी तथा निजी निकायसँग समन्वय गर्दै आएको छ।

बिज्ञापन

आइतबार सम्पन्न साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। जसअनुसार उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिवमा नवीन लुइटेल, सचिवमा विनोद श्रेष्ठ तथा कोषाध्यक्षमा सुरेन्द्र सुराना निर्वाचित भएका छन्।

त्यसैगरी बोर्ड सदस्यहरूमा पूर्णिमा दागा, ईश्वर चन्द राजन, अर्चना प्रधान, केदार शिवाकोटी र विष्णु पौडेल चयन भएका छन्।

कार्यक्रममा निर्वाचन अधिकृत डा. तुल्सी धरेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

संस्थाका पूर्व अध्यक्ष विजय पौडेलले संस्था अझ सशक्त र प्रभावकारी बनाउन सबै सदस्यहरू एकताबद्ध भएर सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए। उनले नेपाल–क्यानडा व्यापारिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।