
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले ईलाका प्रहरी कार्यालय लेटाङ मोरङमा कार्यरत प्रहरी इन्स्पेक्टर सागर साहलाई २०८३ साल वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of The Month) घोषणा गरेको छ ।
इन्स्पेक्टर साहले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।




प्रदेश प्रहरी कार्यालयका अनुसार इन्स्पेक्टर साहले फैसला कार्यान्वयन अभियानअन्तर्गत विभिन्न समयमा उल्लेख्य संख्यामा फरार प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराउने कार्य प्रभावकारी रूपमा सम्पन्न गरेका थिए ।

त्यसैगरी, प्रविधिमैत्री प्रहरी सेवा विस्तार गर्ने क्रममा ड्रोन क्यामेराको प्रयोगमार्फत अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाएको, नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी सचेतनामूलक सन्देश प्रवाह गरेको तथा सञ्चार शाखा निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ ।
यसका साथै हिरासत कक्षमा पुस्तकालय स्थापना गरी नवप्रवर्तनात्मक कार्यलाई प्रोत्साहन दिएको तथा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको मूल्यांकनसहित उनलाई “सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।