मिर्चैयाको सगरमाथा : जहाँ किताबी ज्ञान मात्र होइन, जीवन पनि सिकाइन्छ

सिरहा । शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यसले सपना देख्न सिकाउँछ, लक्ष्य तय गर्न प्रेरित गर्छ र भविष्यतर्फ डोर्‍याउँछ । यसका लागि कुनै पनि शिक्षालयले विद्यार्थीलाई पाठ्यपुस्तकसँगै जीवनका अन्य पाटाहरू पनि बुझाउन सक्नुपर्छ ।

तर, शिक्षालयहरूले अभिभावकसँग शुल्क लिने र त्यसबापत विद्यार्थीलाई पाठ्यपुस्तकसम्मै सीमित राख्ने प्रवृत्ति रहेको अवस्थामा मिर्चैयामा अवस्थित सगरमाथा उच्च माध्यमिक विद्यालयले भने फरक उदाहरण पेश गर्दै आएको छ । सगरमाथाले किताबी ज्ञान मात्र होइन, विद्यार्थीलाई जीवन पनि बुझाउनुपर्छ भन्ने कुरालाई आफ्नो दायित्व ठान्दै आएको छ ।

बिज्ञापन

यसकै निरन्तरता स्वरुप आइतबार सगरमाथाले ग्रान्ड एजुकेसनल फेस्टिवल एन्ड करिअर वेलकमिङ प्रोग्राम आयोजना गर्‍यो, जसमा सगरमाथामा कक्षा १२ पढेका विद्यार्थीलाई विदाइ मात्रै गरिएन, अब के गर्ने, कसरी अगाडी बढ्ने, कसरी सफल मानिस बन्ने, जीवन के होजस्ता विषयमा प्रशिक्षण पनि दिइयो ।

कार्यक्रमस्थल विद्यार्थीहरूको ऊर्जा, भविष्यप्रतिको उत्सुकता र करिअर निर्माणको संकल्पले भरिएको देखिन्थ्यो । नेशनल प्याब्सनका पूर्वअध्यक्ष पाण्डव हमाल ठकुरीले आजको प्रतिस्पर्धात्मक युगमा सही शिक्षा र स्पष्ट करिअर दृष्टिकोणको आवश्यकता औंल्याउँदै सगरमाथाको यो प्रयासलाई सराहना गरे ।

विद्यालयका सञ्चालक प्रदीपकुमार तिवारीले विद्यार्थीहरूलाई केवल प्रमाणपत्रका लागि नभई क्षमता, सीप र नेतृत्व विकासका लागि तयार गर्ने आफूहरूको उद्देश्य रहेको बताए । उनले यसका लागि सधैंभरि अनुशासन, मेहनत र सकारात्मक सोच लिएर अघि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे ।

यस्तै, तिवारीले उच्च शिक्षातर्फ बीबीए र बीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई सगरमाथामै पढ्न अपिल गरेका छन् । ‘तपाईं डक्टर वा इन्जिनियर बन्नु चाहनुहुन्छ भने जहाँ जानुहुन्छ जानुस्, हाम्रो शुभकामना छ, सहयोग पनि हुन्छ,’ उनले भने, ‘तर, तपाईं यदि बीबीए वा बीबीएस पढ्न चाहनुहुन्छ भने हामी सस्तोमा गुणस्तरीय शिक्षा यहीँ दिन्छौं ।’