जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै एक बालकलाई निर्मम कुटपिट गरेको घटनामा छानबिन सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारलाई बोलाएर डिएसपी एवम् प्रवक्ता बरुण बहादुर सिँहले घटनाको छानबिन सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
हिरासतभित्रै बालकलाई निर्मत कुटपिट, अवस्था नाजुक शिर्षकको समाचार प्रकाशित भएपछि धनुषा प्रहरीले घटनाप्रति चासो लिएको थियो । समाचार प्रकाशनपछि परिवारजनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर कुटपिट गरेका प्रहरीलाई चिन्न लगाएका थिए । बालकले अपराध अनुसन्धान शाखाका प्रहरी नीरिक्षक संजीव यादव टोली मातहतका एक प्रहरी कर्मचारीलाई देखाएका थिए ।
मंगलबार धनुषाको धनौजी गाउँपालिका वडा नं. २ धनौजी बस्ने स्थानीय १५ बर्षिय रोहित पण्डितलाई प्रहरीले हिरासतमा लिएर निर्ममपूर्वक कुटपिट गरेको परिवारजनले आरोप लगाएका थिए ।
मंगलबार हिरासतमा लिएका तीन बालकमध्ये रोहित पण्डितलाई पटक पटक कुटपिट, कनचटमा बन्दुक भिडाएर आरोप स्वीकार गर्न लगाउने, आफू चोरी नगरेको भन्दा पाईपले निर्घात कुटपिट गरेको पण्डितले बताएपछि डिएसपी सिँहले एक्सन लिएका छन् ।
पण्डितलाई हिरासतमा लिएर याताना दिने प्रहरीको मुखौटा चिनेपनि उनको नाम भने खुलाएनन् । कनचटमा बन्दुक भिडाएर डर, त्रास देखाई चोरीको आरोप स्वीकार गर्न लगाएको आरोप बालकले लगाएका छन् । स्वीकार नगरेपछि उनलाई विभिन्न तवरले यातना दिएको आरोप लगाएका हुन् ।
देखाईका प्रहरीमाथि छानबिन सुरु गरिएको छ । उनले हतियार कहाँबाट लिएको तथा हतियार देखाएको, कनचटमा भिडाएको आरोपप्रति छानबिन सुरु भई दोषी देखिए विभागिय कारवाही हुने जनाएको छ ।
सोमबार राती करिब ११ बजे भएको चार वटा पसलमा चोरीपछि तीन जनालाई फँसाउँदै पक्राउ गरी लगेका थिए । प्रहरी चौकी धनौजीका ईन्चार्ज हर्क बहादुर श्रेष्ठले जनप्रतिनीधिको दबाबमा आएर उनीहरुलाई जबरदस्ती पक्राउ गरी बुझाएको आरोप परिवारजनको छ ।
मंगलबार बिहान पक्राउ गरी धनौजी प्रहरीमा राखेर उनीहरुलाई चोरी गरेको स्वीकार गरे छाडिदिने भनेर दबाब दिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषा पुरयाएका थिए ।
जिल्ला प्रहरीमा मंगलबारदेखि नै १४ बर्षिय सुमित पण्डित, १५ बर्षिय रोहित पण्डित र १६ बर्षिय रोहित साहलाई यातना दिएका थिए । उनीहरुमध्ये रोहितलाई निर्घात कुटपिट र यातना दिएका हुन् ।
धनौजी प्रहरीका असई हर्क बहादुर श्रेष्ठले बिना कुनै उजुरी, निवेदनको आफू कलंकबाट बच्न तीन बालकमाथि झुठा आरोप थुपारेर बन्दी बनाएका थिए ।