मधेश प्रदेश : भौतिक पूर्वाधार विकास मन्त्रालयले ठग्यो ६ लाख ५० हजार ७ सय रुपैयाँ

जनकपुरधाम । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उपकरण आपूर्ति गराएका एक संस्थासँग सामग्री मगाई भुक्तानी नदिएको खुलासा भएको छ ।

लामो समयदेखि बाँकी रकम माग गर्दा ठेकेदारले पैसा नदिने मात्र नभइ धम्की समेत दिने गरेको सम्बन्धित संस्थाका सञ्चालकले आरोप लगाएका छन् । जनकपुरधाममा शनिबार आरके साह मेसनरी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक ई. राजेश कुमार साहले पत्रकार सम्मेलन गर्दै जी–टेक एन्ड इन्जिनियरिङ प्रालिका सञ्चालक सुजित कुमार कापरीले उपकरण आवश्यक परेको भन्दै ५ लाख २० हजार रुपैयाँ बराबरको सामान मगाएको र भौतिक पूर्वाधार विकास मन्त्रालयमा सामग्री फुकुवा गर्नुपर्ने भन्दै थप १ लाख ३० हजार रुपैयाँ नगद लिएको तर लामो समयसम्म पनि भुक्तानी नगरेको र सापटी रकमसमेत फिर्ता नगरेको आरोप लगाए ।

बिज्ञापन

उनले कापरीमाथि ठगी गरेको दाबी गरेका छन् । साहका अनुसार पटक–पटक ताकेता गरेपछि वि.सं. २०८१ मंसिर २८ गते जी–टेक एन्ड इन्जिनियरिङ प्रालिका सञ्चालक कापरीले ६ लाख रुपैयाँको सिटिजन बैंकको करेन्ट एकाउन्टबाट चेक चैत १५ गते म्याद तोकी दिएका थिए । साथै, बाँकी रकम नगदमै बुझाउने आश्वासनसमेत दिएका थिए । तर तोकिएको म्यादमा चेक साट्न जाँदा खातामा पर्याप्त रकम नहुँदा चेक अस्वीकृत (वाउन्स) भएको र उक्त चेकमा कार्यालयको छापसमेत नरहेको ई. साहले बताए ।

उनका अनुसार सो चेक तीन पटकसम्म वाउन्स भएको हो । सञ्चालक साहले जी–टेक ट्रेड एण्ड इन्जिनियरिङ प्रालिलाई ४ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको जियोमेक्स जुम (१ थान) र २० हजार ८ सय मूल्यको मेजरिङ ह्वील अर्पाट्स (४ थान) सप्लाई गरेका थिए । साथै, १ लाख ३० हजार रुपैयाँ नगद सापटी र भ्याट रकम समेत गरी कूल ६ लाख ५० हजार ७ सय रुपैयाँ बराबरको भुक्तानी नदिएको आरोप उनले लगाए ।

यस विषयमा चेक वाउन्सको प्रमाणसहितको उजुरीका आधारमा २०८२ साल जेठ १ गते कापरीविरुद्ध धनुषा प्रहरीबाट पक्राउ आदेश जारी भएको बुझिएको छ । झन्डै तीन महिना अघि एक सञ्चारमाध्यममा घटनासम्बन्धी समाचार प्रकाशित भएपछि मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लेखा शाखामा कार्यरत कर्मचारी संजय मण्डलले सञ्चालक साहलाई फोन गरी मन्त्रालयले उपकरण सप्लाईको भुक्तानीका लागि पहल गर्ने भन्दै थप समाचार बाहिर नल्याउन अनुरोध गरेको साहले दाबी गरे ।

तर पछि कर्मचारी संजय मण्डलसमेत सम्बन्धित व्यक्ति (कापरी) बाटै पैसा लिन भन्न थालेको साहको भनाइ छ । उनले राजनीतिक पहँुचको कारण प्रहरीले समेत पक्राउ गर्न आनाकानी गरिरहेको आरोप लगाए । उनले आफूलाई न्याय दिलाइ दिनका लागि आग्रह गरे । सञ्चालक साहका अनुसार जीटेकका संचालक कापरीलाई दबाब नदिनका लागि नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोका छोरा रोशन महतो र आफूलाई सभामुखका ज्वाइँ भन्दै परिचय दिने विपिन महतोले पटक–पटक धाकधम्की दिँदै आएका छन् ।

ठगी आरोपित जी–टेकका सञ्चालक कापरी हंसपुर नगरपालिकाको १ नं. वडाबाट नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार समेत बनेका थिए । हाल उनी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनका मधेश प्रदेश अध्यक्ष रहेको जनाइएको छ । प्राविधिक पृष्ठभूमिबाट आएका साह र कापरी दुवै पेशाले इन्जिनियर हुन् । भने उनी नेकपा एमालेमा आवद्ध छन् ।