मधेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा समन्वयकारी भूमिका निर्वाह गर्ने : एसएसपी कोइराला

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले मधेश प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् ।

शुक्रवार वीरगञ्जमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले सामाजिक अपराधहरू मधेस प्रदेशमा प्रमुख चुनौती रहेको उल्लेख गरे । एसएसपी कोइरालाले अपराध रोकथाम र अनुसन्धानमा सबै सम्बन्धित निकायहरूबिच सहकार्य अपरिहार्य भएको बताए ।

बिज्ञापन

प्रदेश प्रहरी कार्यालयले मधेशका आठ वटै जिल्लाका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै अपराध नियन्त्रण, शान्ति सुव्यवस्था कायम र मानव संसाधन व्यवस्थापनमा केन्द्रित भएर काम गर्नेछ, उनले भने । उनले मधेश प्रदेश प्रहरी कार्यालयको स्थापना र यसको सञ्चालनबारे जानकारी दिँदै इकाई २०७५ सालमा जनकपुरधाममा स्थापना भएको र २०७८ साल फागुन ५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार वीरगञ्जमा स्थानान्तरण गरिएको बताए ।