विपिन कुमार यादव ,जनकपुरधाम, १८ माघ । समाजवादी पार्टीको प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र न.२ को सांसद उमाशंकर अरगडियाले पार्टीको केन्द्रिय कमिटीको निर्देशन बमोजिम संगठन बिस्तार तथा सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन । जनकपुरबाट सुरु भएको पार्टीको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियानलाई सम्बोधन गर्दै पार्टीको अनुसासनमा रहेर बिस्तारमा लाग्न आग्रह गरे ।
समाजबादी पार्टी, जिल्ला समन्वय समितिद्धारा जनकपुरमा आयोजित समारोहमा विसु अभियानको उद्घाटन गर्दै प्रमुख सचेतक तथा साँसद अरगडियाले केन्द्रको निर्देशन अनुसार १५ दिन भित्रनगर, वडा, क्षेत्र तथा जिल्लाको कार्यक्रम सम्पन्न गर्न सुझाब दिए । पार्टी विसु अभियानको धनुषा संयोजक उमाशंकर अरगरियालाई दिईएको छ ।
धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद अरगरियाले पार्टी अध्यक्षको निर्देशन अनुसार काम गर्न नसक्ने र पार्टीको कार्यक्रममा सहभागी नहुनेलाई कारबाही गर्न जिल्ला कमिटीसँग निर्देशन समेत दिए । उनले विसु अभियान अन्तर्गत गरिने कामको प्रतिवेदन हरेक १५ दिनमा जिल्लामा बुझाउन नगर, वडा र सवै पालिकाका नेताहरुलाई निर्देशन दिए ।
पार्टीका प्रमुख सचेतक समेत रहेका अरगरियाले अगामी निर्वाचनमा धनुषाका ४ सिट जित्नेगरी इमान्दारिता पूर्वक संगठन विस्तार गर्नुपर्ने बताए । उनले भने, ‘अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नुपर्छ । त्यसैले पनि संगठन विस्तारमा विशेष ध्यान दिन जरुरी छ ।’
पार्टीका धनुषा अध्यक्ष पशुपति यादबको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उद्घाटन पश्चात अब पालिकादेखि वडासम्म विसु अभियान चलाइने समाजवादी पार्टीले जनाएको छ ।