धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माण महाअभियानको घोषणा

जनकपुरधाम । विगत १४ वर्षदेखि अधुरो रूपमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणका लागि महाअभियान घोषणा गरिएको छ ।

शनिबार कमला नदीको तटमा आयोजित कार्यक्रममा कबिर बाल आश्रम जनकपुरधामका संस्थापक सत्यनारायण आलोक बाबाको अध्यक्षतामा धनुषा र सिरहाका सयौँ स्थानीयको उपस्थितिमा नयाँ कमला पुल निर्माण महाअभियानको औपचारिक घोषणा गरिएको हो ।

बिज्ञापन

नयाँ कमला पुल निर्माणका लागि जनस्तरबाट प्रत्येक व्यक्तिबाट एक सय रुपैयाँका दरले चन्दा संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको अभियन्ता डा. कृष्ण कुमार यादवले बताए । उनले अब कमला पुल निर्माणका लागि सबै नागरिकलाई यस अभियानमा एकजुट हुन आग्रह गरे ।  

अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार पुल स्थलमै अभियानको औपचारिक सुरुआत गरिएको हो ।

उनका अनुसार करिब १४ वर्षअघि निर्माण सुरु भए पनि पटक–पटक म्याद थप्दै काम अलपत्र परिरहेको छ । विसं २०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा पिलर भासिएपछि समस्या झन् जटिल बनेको छ । पुल नबन्दा मधेशका लाखौँ नागरिकको आवतजावत, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको उनको भनाइ छ ।

सरकारले लामो समयसम्म पुल निर्माण सम्पन्न गर्न नसकेपछि जनताले नै प्रतिकात्मक रूपमा पुल निर्माण गर्नुपर्ने अवस्था आएको भन्दै अभियान सुरु गरिएको अभियन्ता यादवले बताए । उनले केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान आरम्भ गरिएको जानकारी दिए ।

मन्त्री घिसिङले पुललाई प्राथमिकतामा राखेर जसरी पनि निर्माण गरिने प्रतिबद्धता जनाए पनि त्यसमा पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको अभियानीहरूको भनाइ छ । नयाँ कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यसका लागि धनुषा, सिरहा र सप्तरी जिल्लाका बासिन्दाबाट चन्दा संकलन गरी सरकारलाई सहयोग गर्ने योजना बनाइएको छ । अभियन्ताहरूले प्रतिपरिवार १० हजार रुपैयाँका दरले चन्दा संकलन गर्ने, विष्णु महायज्ञ आयोजना गर्ने तथा अभियानलाई प्रशासनमा दर्ता गरी प्राप्त हुने अनुदान रकम सरकारकै कोषमा जम्मा गराउने जनाएका छन् ।