मधेसका मुख्यमन्त्री कृष्ण यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन् । उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ ।

बिज्ञापन

उनले राखेको विश्वासको मतको पक्षमा ९२ मत परेको थियो । विपक्षमा कुनै पनि सांसदले मतदान गरेनन् । एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसद आवश्यक पर्छ ।

प्रदेश सभाको अध्यक्षता गरिरहेकी उपसभामुख बबिता कुमारी राउत ईशरले शुक्रबार साँझ विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन् । उनले भनिन्, माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम ४३ को उपनियम ४ बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त राख्नु भएको प्रस्तावको पक्षमा ९२ मत परेको र उक्त मत संख्या नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु ।

नेपाली कांग्रेस संसदीय दलका नेता यादव सात दलीय गठबन्धनका ७७ सांसदको समर्थनमा गत मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनलाई नेकपा (एमाले) ले पनि विश्वासको मत दिएको हो ।