
जनकपुरधाम । मधेश प्रदेश सरकारले वर्षे धानलाई लक्षित गर्दै स्थानीय तहहरूमा रासायनिक मल वितरणका लागि सरोकारवाला निकायलाई बाँडफाँट गरेको छ ।
धानबाली रोपाईं सुरु भइसकेपनि रासायनिक मल वितरण नगरेको आरोप लागिरहेका बेला मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत गठित प्रदेश मल समितिले रासायनिक मल युरिया र डीएपी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गलाई वितरणका लागि बाँडफाँट गरेको हो ।




समितिको जेठ २७ गतेको निर्णयानुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडतर्फको युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडतर्फको डीएपी मल मधेश प्रदेशमा रहेका १३६ वटै स्थानीय तहहरूमा बाँडफाँट गरिएको मन्त्रालयका प्रवक्ता मनिष कुमार पालले जानकारी दिएका छन् ।
मन्त्रालयले सप्तरीका १८ वटा स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डीएपी मल वितरण गर्न भनेको छ ।
त्यस्तै, सिरहामा रहेको स्थानीय तहका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डीएपी, धनुषामा रहेका स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डीएपी मल बाँडफाँट गरेको छ भने महोत्तरीमा रहेका स्थानीय तहहरूका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डीएपी मल वितरण गरेको हो ।
यसैगरी सर्लाहीमा रहेका स्थानीय तहका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डीएपी, रौतहटका स्थानीय तहका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डीएपी, बारामा रहेका स्थानीय तहका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डीएपी, पर्सामा रहेका स्थानीय तहका लागि मन्त्रालयले ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डीएपी मल बाँडफाँट गरिएको छ ।