धनुषामा नगर प्रहरीका लागि विपद् स्वयंसेवक परिचालन तालिम सुरु

जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाले जनकपुरधाम उपमहानगरपालिकासँगको समन्वयमा नगर प्रहरीहरूका लागि ‘विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम’ सञ्चालन गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको हो । विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नगर प्रहरीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
शुक्रबारदेखि सुरु भएको तालिम असार ३० गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहभागी नगर प्रहरीहरूलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक उपचार, आपत्कालीन अवस्थामा जनशक्ति परिचालन, समन्वय तथा विपद् व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह ले स्थानीय तहसँग जनशक्ति भए पनि आवश्यक दक्षताको अभाव रहेको उल्लेख गर्दै तालिमले नगर प्रहरीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाका एसपी भिमबहादुर विष्टले सशस्त्र प्रहरी बल र स्थानीय तहबीचको सहकार्यमा सञ्चालन गरिएको यस तालिमले बाढी, डुबान, आगलागी, हावाहुरीलगायत प्राकृतिक तथा मानवसिर्जित विपद्का घटनामा छिटो, प्रभावकारी र समन्वित प्रतिक्रिया दिन नगर प्रहरीहरूलाई सक्षम बनाउने बताए ।

बिज्ञापन

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका थप प्रभावकारी बनाउने तथा समुदायस्तरमा उद्धार र राहत कार्यलाई सुदृढ गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।