
जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै धनुषामा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालयले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै जिल्लाभर कडा सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।
निर्वाचन सुरक्षाअन्तर्गत जनकपुरधामस्थित जनकपुर विमानस्थल गत १६ फागुनदेखि नेपाली सेनाको जिम्मामा दिइएको छ । संवेदनशील पूर्वाधारको सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।




यसैबीच नेपाल–भारत सीमा क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षा निकायका प्रतिनिधिहरूले संयुक्त अनुगमन गरेका छन् । सीमा नाकामा आवतजावत र सुरक्षाको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको बताइएको छ ।

धनुषाका चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी गरी ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रजिअ लुइँटेलका अनुसार प्रत्येक क्षेत्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी खटाइएको छ ।
‘जिल्लाको कुनै पनि स्थानमा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र थप सुरक्षा फोर्स पुग्ने गरी सुरक्षा योजना तयार गरिएको छ,’ उनले भने ।
प्रशासनले मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन सबै तयारी पूरा भएको जनाएको छ ।