जनकपुर : ब्लैक वाइट हाउस डान्स बारमा यौनकार्य अस्वीकार गर्दा युवतीमाथि निर्घात कुटपिट, २ जना पक्राउ

जनकपुरधाम । ब्लैक वाइट डान्स बारका सञ्चालकले कामदार युवतीलाई यौनकार्यका लागि दिएको दबाब अस्वीकार गर्दा सामूहिक कुटपिट भएको छ । घटनापछि प्रहरीले बारका कर्मचारीलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।

घटना जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलियास्थित मुख्य सडकसँगै रहेको ब्लैक वाइट डान्सबार क्लबमा चैत पहिलो सातामा भएको हो । नेपाल प्रेससँग सम्पर्कमा आएका चारजना युवतीले कुटपिटका कारण आफूहरू घाइते भएको बताए ।

बिज्ञापन

ती युवतीहरूको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले बारका लेखापाल सञ्जय कुमार यादव र काशिन्द्र महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपोसारको मुद्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले बताए ।

यौनकार्य अस्वीकार गर्दा…मुजेलियाको व्यस्त सडक छेउमै रहेको उक्त बारमा ‘वेट्रेस’ (बार गर्ल) को रूपमा कार्यरत युवतीलाई केही समयदेखि व्यवस्थापनले ग्राहकसँग शारीरिक सम्बन्ध राख्न दबाब दिँदै आएको थियो । चैत ३ गते सोही विषयमा विवाद हुँदा युवतीहरूले ‘हामी इज्जत बेच्न सक्दैनौँ’ भन्दै प्रतिकार गरे । त्यसपछि उनीहरूलाई एउटा कोठामा थुनेर लात्ती, मुक्का र पाइपले नीलडाम बस्ने गरी कुटपिट गरिएको थियो ।

पीडित युवतीहरूका अनुसार उनीहरूलाई बाहिर निस्कन नदिई मोबाइल समेत खोसिएको थियो । ‘हामी आर्थिक अभावले काम गर्न आएका थियौँ, तर हामीलाई यहाँ यौन दासीजस्तो व्यवहार गरियो’, एक पीडितले भनिन् ।

उनीहरूले डान्सबारभित्रै ग्राहकसँग रकम लिएर यौन धन्दा गराउने गरिएको दाबी गर्दै आफूहरूलाई करकाप, धम्की र शोषणमा पारिएको बताएका छन् । साथै, काम गरे बापतको ज्याला तथा टिप्ससमेत नदिइएको भन्दै कानून बमोजिम कारबाही र बक्यौता रकम दिलाइदिन प्रहरीसमक्ष माग गरेका छन् ।

बारका सञ्चालक यसअघि पनि यस्तै आरोपमा प्रहरी कारबाहीमा परेका थिए । पीडित युवतीले आइतबार मानव बेचबिखन तथा ओसार-पोसारको जाहेरी दिएपछि धनुषा जिल्ला अदालतले अनुसन्धानका निम्ति म्याद थप गरेको छ ।

मुजेलिया क्षेत्रमा सञ्चालित डान्स बारहरूमा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर ल्याउने र पछि दबाबमा पारेर यौनकार्यमा लगाउने गिरोह सक्रिय रहेको स्थानीयको गुनासो छ । अहिले पीडित युवतीहरूलाई सुरक्षित स्थानमा राखी उपचार र कानूनी परामर्श दिने काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ, कानूनी व्यवस्था
नेपालको मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन, २०६४ अनुसार मानव बेचबिखनमा संलग्नलाई १० देखि २० वर्षसम्म कैद र ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको कडा कानूनी व्यवस्था छ । यो जघन्य अपराध नियन्त्रणका लागि मानिसको किनबेच गर्नेलाई २० वर्षसम्म र ओसारपोसार गर्नेलाई १५ वर्षसम्म कैदको प्रावधान छ ।