
जनकपुरधाम । नेपाल प्रेसका मधेश ब्यूरो प्रमुख शिव अधिकारी यदुवंशीलाई समाचार लेखेकै निहुँमा ज्यान मार्ने धम्की आएको छ । अज्ञात नम्बरबाट ह्वाट्सएपमा फोन गर्दै ‘ठाउँको ठाउँ मारिदिने’ धम्की दिइएको हो ।
यदुवंशीका अनुसार हिजो साँझ करिब ७:४० देखि ७:४५ बजेको बीचमा भारतको पटना क्षेत्रबाट भन्दै स्पाम कल गरिएको थियो । फोन गर्नेले हिन्दीमा बोलेका थिए ।




‘डीआइजीसम्बन्धी समाचार लेखेर हाम्रो सेटिङ भत्कायौ, १० मिनेटमै जनकपुरमा गोली हान्छु’ आफूलाई आएको धम्की उद्वृत गर्दै यदुवंशीले भने ।

धम्कीपछि उनले तत्काल जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । घटनाबारे प्रतिक्रिया दिँदै प्रहरी प्रवक्ता तथा डीएसपी गणेशबहादुर बमले धम्की प्रकरणको गम्भीरतापूर्वक छानबिन भइरहेको बताएका छन् ।
‘हामीले यो विषयमा प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौं,’ उनले भने । केही समययता यदुवंशीले मधेश प्रदेशका प्रहरीप्रमुख डीआईजी गोविन्द थपलियाको तस्करहरुसँग साँठगाँठबारे श्रृंखलावद्धरूपमा समाचार लेख्दै आएका छन् ।