2024-04-26

Close

राजनीतिमा ‘षड्यन्त्र’ भएपछि पूर्व राष्ट्रपति पुत्र यादव ११ वर्षपछि क्लिनिकमा

 

जनकपुरधाम – नेपाली कांग्रेसका पूर्व सांसद डा. चन्द्रमोहन यादव पछिल्ला ३ महिनादेखि चिकित्सा पेशामा सक्रिय छन् । उनी राजनीतिमा सक्रिय भएपछि चिकित्सा पेशाबाट बिमुख भएका थिए ।

करीब ११ वर्षपछि उनी फेरि चिकित्सा पेशामा सक्रिय भएका छन् । धनुषाको सपही स्थायी घर तथा जनकपुरधाम अस्थायी घर भएका यादव प्रथम राष्ट्रपति डा. रामवरण यादवका जेठा छोरा हुन् ।

विगत ११ वर्षसम्म पूर्णकालीन राजनीतिमा सक्रिय रहेका यादव हाल बिहानदेखि साँझसम्म आफ्नो क्लिनिकमा बिरामीको परीक्षण गर्नमै व्यस्त देखिन्छन् ।

यादवले समय व्यवस्थापन गर्दै राजनीति र चिकित्सा पेशालाई एकैसाथ सँगसँगै लगिरहेका छन् । ‘दुवै पेशालाई एकसाथ लिएर जान पाउँदा अत्यन्तै खुशी छु,’ यादवले भने, ‘राजनीति भनेको पैसा कमाउने ठाउँ होइन, त्यो त समाजसेवा गर्ने ठाउँ हो ।’

२०६४ सालको संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसको टिकटमा तत्कालीन केन्द्रीय महामन्त्री डा. रामवरण यादवले चुनाव जितेका थिए । त्यसपछि यादवलाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राष्ट्रपतिको उम्मेदवारमा अगाडि सारे । उनी राष्ट्रपतिमा निर्वाचित भए । त्यसपछि उनले सक्रिय राजनीति गर्न नपाउने भए ।

राष्ट्रपछि यादवले जितेको सिटमा उपनिर्वाचन भयो । २०६५ सालमा भएको उपनिर्वाचनमा राष्ट्रपति यादवले आफ्ना छोरा चन्द्रमोहनलाई उम्मेदवार बनाए तर उनी जित्न सकेनन् ।
निर्वाचनमा उम्मेदवार हुनुअघि चन्द्रमोहन काठमाडौंको वीर अस्पतालमा प्राध्यापक थिए । उनले भारतको कलकत्ताबाट एमबीबीएस र चण्डीगढबाट रेडियोलोजीमा एमडी गरेका थिए । सक्रिय राजनीतिबाट टाढा भई चन्द्रमोहन चिकित्सा पेशामा आवद्ध थिए । उनी पश्चिमाञ्चल विश्वविद्यालयमा लोक सेवा आयोगको परीक्षा पास गरेर चिकित्सा पेशामा आवद्ध थिए ।
आफ्नै बुवाले जितेको सिटमा उपनिर्वाचन लड्न नेपाली कांग्रेसले चन्द्रमोहनलाई टिकट दियो तर तत्कालीन नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले उनलाई पराजित गरे । बुवाले जितेकै सिटमा लगत्तै भएको चुनावमा उनी पराजित हुन पुगे ।

राजनीतिमा नयाँ भएको र जनतामा भिज्न नसकेका कारण चुनाव हार्नुपरेको यादव बताउँछन् । सक्रिय राजनीतिमा आवद्ध भएपछि उनले चिकित्सा पेशालाई छाडेर पूर्णकालीन राजनीतिमै समय व्यतित गर्न थाले ।
२०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा उनलाई नेपाली कांग्रेसले फेरि पनि त्यही क्षेत्रबाट टिकट दियो । धनुषाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संविधान सभामा पुगे । बुवा राष्ट्रपति भएका कारण उनी बुवासँगै शितल निवासमा बस्ने गरेका थिए । त्यसकारण उनको राष्ट्रिय स्तरमा समेत पहिचान स्थापित भयो तर पार्टीमा भने उनको भूमिका सीमित नै थियो ।

नेपाली कांग्रेसको महाधिवेशनमा उनलाई तत्कालीन संस्थापन पक्ष रामचन्द्र पौडेल गुटबाट कोषाध्यक्षमा उम्मेदवार बनाउने भित्रभित्रै तयारी थियो तर उनी सदस्य रहेको धनुषाको निर्वाचन क्षेत्र नम्बर ५ मा क्षेत्रीय अधिवेशन नै हुन सकेन ।
केन्द्रीय महाधिवेशनमा उनले सहभागिता नै जनाउन पाएनन् र केन्द्रीय कोषाध्यक्षमा सीतादेवी यादवलाई संस्थापन पक्षले उम्मेदवार बनायो र जितायो । केन्द्रीय महाधिवेशनको लामो समयपछि यादवको क्षेत्रमा क्षेत्रीय अधिवेशन भयो तर उनी महाधिवेशन प्रतिनिधि पनि बन्न पाएनन । पार्टीभित्रै चुनाव हारे ।

पार्टीको केन्द्रीय स्तरबाट नै ती सबै षड्यन्त्र भएको उनी बताउँछन् । ‘नेपाली कांग्रेसको अहिलेसम्मको इतिहासमा त्यो कालो धब्बाको रुपमा मैले लिएको छु,’ यादवले भने, ‘केन्द्रीय महाधिवेशनमा कुनै क्षेत्रलाई क्षेत्रीय अधिवेशन नै नगराई महाधिवेशन भएको पहिलो घटना थियो ।’ इतिहासको कालो पानाको रुपमा बुकलेट नै प्रकाशित गरेर देशैभरका नेता कार्यकर्तासमक्ष पुर्‍याएको उनी बताउँछन् ।
त्यसपछि प्रदेश सभाको निर्वाचनमा उनलाई नेपाली कांग्रेसले फेरि टिकट दियो । प्रतिनिधि सभामा नै चुनाव लड्ने चाहना हुँदाहुँदै पनि उनले टिकट पाएनन् । कांग्रेसका सभापति शेरबहादुर देउवासँग राति १२ बजेको समयमा भेट गरेर प्रतिनिधि सभाको नै टिकट दिन उनले आग्रह समेत गरे । ‘तर सभापति देउवालाई मैले बुझाउन सकिनँ,’ यादवले भने, ‘तपाईंलाई प्रदेशको मुख्यमन्त्रीको रुपमा पार्टीले प्रस्ताव गरेको छ, त्यसैले त्यहीँ लड्नुस् भनेर उहाँले निर्देशन दिनुभयो ।’

प्रदेश सभामा मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको भएपनि उनी चुनाव हारे । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार ज्ञानेन्द्रकुमार यादवले चुनाव जिते । त्यसयता पार्टीमा खासै भूमिका र जिम्मेवारी समेत नभएका कारण यादवले पुरानो चिकित्सा पेशालाई निरन्तरता दिन थालेका छन् ।
जनकपुर अञ्चल अस्पताल रोडस्थित आफ्नो क्लिनिकमा उनी बिहानदेखि साँझसम्म बस्दै आएका छन् । रेडियोलोजी विशेषज्ञका रुपमा उनले सिटी स्क्यान, अल्ट्रासाउण्ड, एमआरआईको परीक्षण गर्छन् उनी । दिनभर चिया पसलमा बसेर गफ हान्नुभन्दा आफ्नो परिवारको पालनपोषण गर्न तथा ज्ञानको समेत उपयोग गर्नका लागि चिकित्सा पेशामा फर्किएको उनी बताउँछन् ।
‘बिरामीको जाँच गर्दा केही शुल्क कम गरिदिने गरेको छु तर पूर्ण निःशुल्क भने गरेको छैन,’ यादवले भने, ‘करोडौंको सिटी स्क्यान मेसिन, लाखौंको अल्ट्रासाउण्ड तथा एक्सरे मेसिन लगाएर लगानीकर्ताले लगानी गरेका कारण धेरै शुल्क छूट गर्न मिल्दैन ।’ १० हजारको शुल्क छ भने १ हजार शुल्क मिनाहा गरिदिन सिफारिस गर्दै आएको उनले बताए ।

‘राजनीति भनेको धन्दा बनेको छ, जबकि राजनीति भनेको समाज सेवा हो । राजनीतिमा लागेका सबैजसो मानिसहरूलाई सोध्नुस् र भन्नुस् कि तपाईं के गर्नुहुन्छ ? जवाफ आउँछ – राजनीति । अनि जीविकोपार्जनका लागि नि भनेर सोध्दा त्यही जवाफ आउँछ – राजनीति तर राजनीतिमा जीविकोपार्जनका लागि दलाल राजनीति हाबी भएको छ,’ उनी भन्छन्, ‘अन्य काम गरेर कमाउनुभन्दा राजनीतिमै लागेर ठगेर खाने धन्दा बनेको छ । त्यसलाई अन्त्य गर्नुपर्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds