2024-04-25

Close

जनकपुर । शनिबार दिउँसो पौने १२ बजे धनुषाको कमला नगरपालिका –४, बल्हासघारास्थित भर्खरै धान काटिएको खेतमा रातो हेलिकोप्टर अवतरण भयो । पहिल्यैदेखि चर्चाको विषय भएर हुनसक्छ, हेलिकोप्टर हेर्न चारैतिरबाट करिब हजारबढीको संख्यामा सर्वसाधारण भेला भएका थिए ।

उक्त हेलिकोप्टरबाट विवाहका लागि सजिएका एक किशोर बाहिरिए । उनीसँगै अन्य तीनजना पनि थिए जो जन्तीको रुपमा आएका रहेछन् । हेलिकोप्टर अवतरण हुनु अगावै करिब दुईदर्जन जीप (साना सवारीसाधन) मा जन्तीहरु आइपुगेका थिए । त्यहाँ भएको भीडमा दुईवटा चासो थियो, ‘जिल्लामै पहिलो पटक सुनिएको हेलिकोप्टर चढेर आउने दुलाहा कस्ता रहेछन् ? र, हेलिकोप्टर कसरी अवतरण हुँदो हो ?’

स्थानीय सर्वसधारणको लागि हेलिकोप्टरमा जन्ती आउँदा नयाँ अनुभव होला । एकमात्र छोरीको विवाह गाउँमै फरक शैलीमा गर्न चाहेका बेहुलीका बाबुलाई सन्तुष्टी र गौरव अनुभूति भएको हुनसक्छ । तर, यहाँ कानुन र कानुन कार्यान्वयन गर्ने निकायको भूमिकाबारेमा भने प्रश्न उठेको छ ।

बल्हासघाराका सतार कबारी पेशाले निजी विद्यालय सञ्चालक हुन्, सोही विद्यालयका शिक्षक पनि । उनकी एकमात्र छोरी सवनम भर्खर १६ वर्षकी भइन् । तिनै छोरीको विवाह राष्ट्रिय स्तरमा चर्चाको विषय बनोस् भन्ने बावुको इच्छाका कारण सतारले आफ्नै तर्फबाट हेली चार्टर गरिदिएर हुनेवाला ज्वाइँलाई जन्तीसहित आफ्नो घरसम्म आउने प्रबन्ध गरेका रहेछन् ।

सतारको चाहना पूरा पनि भयो । गाउँमा चर्चा पनि भयो । वैवाहिक भोजमा सहभागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले के बुझे र के गरी फर्के त ?

दिउँसो पौने १२ बजे अवतरण भएको हेली अपराह्न पौने चार बजे सिरहा, सुखीपुर नगरपालिकास्थित कर्जन्हा (बेहुलाको घर) का लागि उडेको थियो । त्यतिन्जेल स्थानीय बल्हा प्रहरी चौकीका इन्चार्ज असइ गणेश दनुवारको कमान्डमा दुईजना र दुब्बरकोट सशस्त्र प्रहरी वेश क्याम्पका वरिष्ठ हवल्दार रंजीत दनुवार कमान्डमा दुईजना रहेको अर्को टोलीले हेलीको सुरक्षा दिएको थियो ।

करिब १८ वर्षका बेहुला र १६ वर्षीया बेहुली दुवै नेपालको कानुनअनुसार विवाहका लागि अयोग्य हो । यस्ता उमेर नपुगेका केटा वा केटीको धेरै विवाह धनुषा प्रहरीले पनि रोकेको दाबी गर्छ । तर, बल्हासघाराको त्यो विवाहमा हेलीकै पछाडि लागेर दुई सुरक्षा निकायका प्रहरी पनि मुकदर्शक बन्न पुग्यो ।
शनिबार बल्हासघारामा विवाह भएको बेहुला सम्साद भर्खरै जनकपुरस्थित मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएका छन् भने बेहुली गाउँकै विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् ।

“बुर्कामा अनुहार हेर्न पाइएन तर यसो हेर्दा केटी ठूलै जस्तो लागेको थियो । केटाको अनुहारले भने कलिलोपन देखिइरहेको थियो,” स्थानीय चौकीका असइ दनुवारले अप्पन जनकपुर संग भने, “त्यहाँका वडा अध्यक्ष (कमला नगरपालिका वडा नं. ४) पल्टु कबारी पनि हुनुहुन्थ्यो । नेताहरु पनि भएपछि मैले उमेरको खासै ध्यान दिइन । हुन त बालविवाह कानुनी हिसाबले अपराध हो रहेछ ।”

गाउँ ठाउँमा हेलिकोप्टर आएपछि हेर्नेको भीड लाग्ने भएर कुनै असुरक्षाको अवस्था नहोस् भन्ने हेतुले निःस्वार्थ भावले सुरक्षा दिए पनि विवाह भएका केटा र केटीको उमेरबारे खासै ध्यान नदिएको असइ दनुवारको भनाइ छ ।
यता, सशस्त्र प्रहरीका वेश इन्चार्ज इन्स्पेक्टर शम्भु कटुवालले विवाहको वारेमा आफुलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए । “ड्यूटीमा खटेको टोलीले बल्हासघारामा हेली ल्यान्ड भएको सुनाएपछि को आएका रहेछन् भन्ने बुझ्न पठाएका थियौं,” उनले भने, “वैवाहिक कार्यक्रममा बेहुलालाई लिएर आएको खबर प्राप्त भएपछि

हेलीको सुरक्षामा बसिदिनु भनेको हो । विवाहका लागि केटा र केटीको उमेर पुगे नपुगेको हाम्रो सरोकारको कुरै भएन नि !”

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले २० वर्ष मुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताउँदै त्यस्तो गर्ने र गराउने दुवैलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताए ।

“समाचार लेख्नु अघि मलाई खबर गर्नुपथ्र्यो नि त !,” प्रजिअ कँडेलले  अप्पन जनकपुर सँग भने, “हामीलाई थाहै भएन, समयमा जानकारी प्राप्त भएको भए विवाह रोकिन्थ्यो ।”

प्रहरीले सुरक्षा दिएको विषयमा उनले भने, “मलाई थाहा भएन । अहिले नै दुवै प्रहरीका एसपीसँग यसबारेमा कुरा गर्छु ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds