
काठमाडौं । एमालेले सबै केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारीमा खटाउने गरी कार्यविभाजन गर्ने भएको छ । केन्द्रीय सचिवालयको पछिल्लो बैठकमा अध्यक्ष केपी ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव छलफलका लागि राखेका छन् ।
जसअनुसार सबै केन्द्रीय सदस्यलाई आगामी स्थानीय तहको निर्वाचनसम्म पालिकाको जिम्मेवारीमा खटाउने गरी ओलीले प्रस्ताव तयार पारेका हुन् । तर, प्रस्तावमाथि छलफल भने भइसकेको छैन । शुक्रबार बस्ने बैठकमा कार्यविभाजन केन्द्रित विस्तृत छलफल हुने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।
उनका अनुसार ओलीले केन्द्रीय सचिवालयबाहेक सबै सदस्यलाई आगामी चुनावसम्म पालिकामै खटाउने गरी जिम्मेवारी तोक्ने प्रस्ताव गर्दै छन् । एमालेका ३०१ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन् ।




तीमध्ये १९ जना पदाधिकारी छन् । उनीहरूबाहेक सबै सदस्य जिल्ला र पालिकामा खटिनेछन् । कतिपय सिनियर केन्द्रीय सदस्यलाई दुईदेखि तीनवटा पालिकासम्मको जिम्मेवारी प्रस्ताव गरिएको छ भने अरूलाई एउटा पालिकाको जिम्मेवारी छ ।

७५३ वटा पालिका रहेकाले अपुग नेताहरू केन्द्रीय लेखा आयोग र कतिपय प्रदेश कमिटीका सदस्यलाई समेत सिधै केन्द्रीय कमिटीले इन्चार्जका रूपमा खटाउने गरी एमालेले तयारी गरेको छ ।