जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट मेयरमा टिकट नपाएपछि रुष्ट बनेका यादव आज लोसपामा प्रवेश गरेका हुन् । उनलाई लोसपाका प्रमुख सचेतक एवं प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र मधेशका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले पार्टी प्रवेश गराएका छन् ।
यादव लोसपाबाट पुन: मेयरमा भोली उम्मेदवारी दिने बताइएको छ । उनी गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।