
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन् ।
आज बसेको प्रदेशसभा बैठकमा उनले सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदको विश्वासको मत पाए ।




गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई गठबन्धनका घटक कांग्रेससहित जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिए ।
यस्तै, एमाले र सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए ।
उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन् ।
१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ । प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।
गएको कात्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेसको मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवको पद २४ दिनमै गएपछि एमाले मधेसमा प्रतिपक्ष कित्तामा पुगेको छ । यो प्रकरणमा एमालेले मधेसमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमाएको छ । मधेसमा सबै दलले एमालेको साथ छाडेका छन् ।
मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख रामचन्द्र मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका छन् ।
यादवको विवादास्पद नियुक्तिपछि प्रदेश प्रमुख सुवेदीलाई सरकारले कात्तिक २४ गते नै पदमुक्त गरेर मधेसमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ ।
यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल पनि मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भइसकेका थिए ।
मधेसको सबैभन्दा ठूलो दल एमालेसँग २४ सांसद छन् ।
