
जनकपुरधाम । विपद् व्यवस्थापन तयारी तथा मनसुनजन्य जोखिमको प्रभावकारी प्रतिकार्यका लागि धनुषाको कमला नगरपालिका–९ दुवरकोटस्थित हथलेटवामा ५ दिने विपद् स्वयंसेवक पुनर्ताजगी तालिम सुरु भएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटको आयोजनामा वडा नं. ९ कार्यालयको सभाहलमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो ।
अस्थायी मनसुन प्रतिकार्यका लागि स्थापित सुरक्षा बेसमार्फत समुदायस्तरमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ । तालिम उद्घाटन कार्यक्रममा कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सप्रबल नेपाल नं. ८ गण धनुषाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भिमबहादुर विष्ट, नगरपालिकाका अधिकारीहरू, वडा नं. ९ का वडाध्यक्ष, वडा सचिव तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । तालिममा २१ जना समुदायस्तरीय विपद् स्वयंसेवक प्रशिक्षार्थी सहभागी छन् । सप्रबल नेपालका विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरिरहेका छन् । उद्घाटन कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा अतिथिसहित करिब ४० जनाको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण मुख्यालयको समन्वयमा सञ्चालन गरिएको तालिम पाँच दिनसम्म चल्नेछ । तालिममार्फत मनसुनजन्य विपद्, उद्धार, प्राथमिक उपचार, जोखिम न्यूनीकरण तथा आपत्कालीन प्रतिकार्यसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ ।




