2025-06-10

Close

जनकपुरधाम । कुनै समयसम्म स्थायित्व, सम्मान र सुरक्षा सेवाको प्रतीक मानिएको नेपाल प्रहरीको जागिर अहिले मधेश प्रदेशका युवा र कर्मचारीहरूका लागि आकर्षणको विषय रहन छाडेको देखिएको छ ।

प्रहरी संगठनभित्रको अव्यवस्थित सेवा सुविधा, न्यून तलब, चरम कार्यदबाब र पारिवारिक समयको अभावजस्ता कारणले कर्मचारीहरूले निरन्तर राजीनामा दिन थालेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्म मात्रै ८३ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरूमा एकजना सई, १४ जना असई, २१ जना बरिष्ठ हवल्दार, ३१ जना हवल्दार, ४ जना सहायक हवल्दार, ९ जना प्रहरी जवान र ३ जना कार्यालय सहयोगी छन् ।

प्रहरी जवानको हालको तलब २६ हजार रुपैयाँ मात्रै रहेको छ । त्यसमा खाद्यान्न भत्ता समेत समावेश छ । यो तलबमा परिवारको पालनपोषण, छोराछोरीको पढाइ र भविष्यको योजना सम्भव नहुने प्रहरी कर्मचारीहरूको साझा गुनासो हो ।

दिनहुँ ८ घण्टा भन्दा बढी काम गर्नुपर्ने, आन्दोलन र आपतकालीन अवस्थामा १८ घण्टासम्म निरन्तर ड्युटी गर्नुपर्ने, पोसाक र जुत्तासहित आवश्यक सामग्री समयमा नपाइने अवस्थाले तल्लो तहका प्रहरी कर्मचारीहरू निराश छन् ।

एक प्रहरी जवान भन्छन्, ‘च्यातिएको पोसाक, पुराना जुत्ता र अनिश्चित कार्यसमयका बीच हामीले देशको सुरक्षाका लागि काम गर्छौं । तर, तलब पनि ढिला र सरुवा–बढुवामा पहुँचको खेल हुन्छ ।’

यो अवस्थाले गर्दा धेरै प्रहरी कर्मचारी वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् । विशेषगरी खाडी मुलुकहरू र द्वन्द्वग्रस्त क्षेत्रहरूमा सुरक्षासम्बन्धी रोजगारीमा जानेको संख्या बढ्दो छ । उच्च तलब, निश्चित ड्युटी समय र परिवारलाई समय दिन सकिने अवस्थाले वैदेशिक रोजगारी बढी आकर्षक बनिरहेको छ । १६ वर्ष सेवा गरेपछि पेन्सन पाउने नियमको लाभ उठाउँदै धेरैले समयमै जागिर छाड्ने निर्णय लिइरहेका छन् ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले यो समस्या केवल मधेशमा सीमित नरहेको बताए । उनले भने, ‘सुविधा अभावकै कारण प्रहरी जागिरप्रति आकर्षण घट्दै गएको हो । सरकारले समयमै ध्यान नदिए यो स्थिति अझ गम्भीर हुन सक्छ ।’

चतुर्वेदीका अनुसार प्रहरीको जीवनस्तर सुधारका लागि छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार, भत्ता समायोजन र पारिवारिक जीवनसँग सन्तुलन मिलाउने नीति आवश्यक छ ।

पूर्व प्रहरी अधिकृतहरूसमेतले यदि सरकारले प्रहरी सेवा सुधार र मनोबल वृद्धिका लागि ठोस नीति ल्याएन भने यसले दीर्घकालीन रूपमा सुरक्षा व्यवस्थामै असर पुर्याउने बताएका छन् ।

मधेशमा सुरक्षाका चुनौतीसँग जुध्ने प्रहरी कर्मचारीलाई सम्मान, सुविधा र भविष्यको ग्यारेन्टी नदिइसम्म ‘सुरक्षा सेवा’ आकर्षणको पेशा बन्ने सम्भावना कमै देखिन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर