

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित ऐतिहासिक पुलचौकमा रहेको मिथिलाबिहारी मन्दिरमा झूला पूजा यस वर्ष पनि धूमधामका साथ मनाइएको छ ।
मन्दिरका अध्यक्ष राधाकृष्ण साह (किसन) का अनुसार, प्रत्येक वर्ष झैं यस वर्ष पनि श्रावण महिनाको विशेष अवसरमा झूला पूजा आयोजना गरिएको हो । झूला पूजामा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रह्यो भने, मन्दिर वरपरको वातावरण भक्तिमय बनेको मन्दिरमा विभिन्न प्रकारका झूलाहरू, फूलमालाले सजाइएको मूर्ति, झाँकी र भक्तिमय संगीतले पूजाको आकर्षण अझै बढेको थियो ।



अध्यक्ष साहले जानकारी गराए अनुसार, झूला पूजाको अवसरमा विशेष पूजा, भजन–कीर्तन र प्रसाद वितरण पनि गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन मन्दिर समितिका सदस्यहरू, स्थानीय बासिन्दा र स्वयम् सेवकहरूको सक्रिय भूमिका रहेको थियो ।
झूला पूजा अबको केही दिनसम्म निरन्तर चल्ने जनाइएको छ । मन्दिरमा दर्शन तथा पूजाका लागि स्थानीय भक्तजनका साथै बाह्य क्षेत्रबाट पनि श्रद्धालुहरूको आगमन बढ्दो छ ।