

जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् ।
मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको निमन्त्रणामा प्रधानमन्त्री ओली जनकपुरधाम आउन लागेका हुन् । मन्त्री लेखीले आइतबार प्रधानमन्त्रीलाई भेट गरी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक भवन उद्घाटनका लागि औपचारिक निमन्त्रण गरेका थिए ।



जनकपुरधाम वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको उक्त प्रशासनिक भवनको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय भएको मन्त्री लेखीले जानकारी दिए ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत २५ करोड रुपैयाँ लागतमा बनेको उक्त भवनमा मधेश प्रदेश प्रहरी संगठनका विभिन्न शाखा रहने मधेश प्रहरीका प्रमुख (डिआईजी) उमाप्रसाद चतुर्वेदीले बताए ।
