धनुषामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट, राजनीतिक दबाबमा अनुसन्धान लम्बिएको आरोप

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–६ बेरियामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरिएको घटना बाहिर आएको छ । स्थानीय जोगी यादव र राजा यादवले गत सोमबार ४० वर्षीया सनेचरी देवी मण्डलमाथि कुटपिट गरेको पीडित पक्षको दाबी छ ।

कुटपिटबाट गम्भीर घाइते भएकी मण्डललाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । चिकित्सकका अनुसार उनको शरीरका विभिन्न भागमा निलडाम तथा चोटपटक लागेको छ ।

बिज्ञापन

मण्डलले २७ साउनमा इलाका प्रहरी कार्यालय फुलगामामा जाहेरी दिएकी थिइन् । तर पाँच दिन बितिसक्दा पनि प्रहरीले कुनै प्रतिवादीलाई पक्राउ नगरेको भन्दै उनले असन्तुष्टि जनाइन् ।

मेरो भैँसीलाई दूध नदिएको बहानामा मलाई बोक्सी भन्दै कुटपिट गरे । प्रहरीलाई उजुरी दिएकी छु तर स्थानीय नेताको दबाबका कारण कारबाही रोकिएको छ, पीडित मण्डलले मधेशपत्रसँग भनिन् ।

घटनापछि गाउँमा त्रासको वातावरण छाएको स्थानीयले बताएका छन् । आरोपितहरू खुलेआम हिँडिरहेका र पीडित परिवारलाई धम्की दिइरहेकोसमेत उनीहरूको आरोप छ । यसअघि पनि गाउँमा महिलामाथि यस्तै घटनाहरू भएको एक स्थानीयले बताए ।

तर, ईलाका प्रहरी कार्यालय फुलगामाका एक अधिकारीले भने घटना ‘बोक्सीको आरोप’ नभई ‘पानीको विवाद’का कारण भएको दाबी गरे । दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाइएको छ, अधिकारीले प्रतिक्रिया दिए ।

यद्यपि, स्थानीय स्रोतले राजनीतिक दबाबका कारण अनुसन्धानमा ढिलाइ भइरहेको बताएका छन् ।

मानव अधिकारकर्मीहरूले घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । उनीहरूले यस्ता घटनाले समाजमा दण्डहीनताको संस्कार बढाउने चेतावनीसमेत दिएका छन् ।