

जनकपुरधाम । नेपाली ट्रक व्यवसायी र चालकहरूले ट्राफिक प्रहरीको मिलेमतोमा ओभरलोड भारतीय ट्रकहरू निर्बाध सञ्चालन भएको भन्दै शनिवार सिमरामा ५२ वटा भारतीय ट्रक नियन्त्रणमा लिएर कडा कारबाहीको माग गरेका छन् । बारा–पर्सा औद्योगिक कोरिडोर र वीरगञ्ज भन्सार क्षेत्रमा नेपाली ट्रकहरूले काम पाउन छाडेको भन्दै व्यवसायीहरूले कदम चालेका हुन् ।
तराई यातायात व्यवसायी संघ सिमराका अनुसार, नेपाली मालवाहक ट्रकलाई ३५ टनसम्म सामान बोक्ने कानुनी सीमा तोकिएको छ । तर, भारतीय ट्रकहरूले ट्राफिक प्रहरीको सेटिङमा ७० देखि ८० टनसम्म सामान बोकेर सञ्चालन भइरहेको आरोप छ ।



ट्रक चालक कमिटी बाराका अध्यक्ष नवराज कार्कीले भने, ट्राफिक प्रहरीको संरक्षणमा भारतीय ट्रकहरूले अत्यधिक ओभरलोड बोकेर चल्दा नेपाली ट्रक र चालकहरू बेरोजगार बन्दै छन् । हामीले अभियानकै रूपमा यस्ता ट्रक रोक्न थालेका छौँ र कारबाही नहुँदासम्म यो जारी रहनेछ । उनका अनुसार, नियन्त्रणमा लिइएका ट्रकहरूले अलकत्रा, मार्बल, प्लेट र कच्चा पदार्थजस्ता सामान ८० टनसम्म बोकेका थिए ।

नियन्त्रणमा लिइएका भारतीय ट्रकहरूलाई पथलैया ट्राफिक प्रहरीले बेवास्ता गरेको व्यवसायीहरूको गुनासो छ । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक उमाशंकर साहले यातायात व्यवस्था ऐनअनुसार कारबाहीका लागि आइतबार यातायात व्यवस्था कार्यालय वीरगञ्ज पठाउने बताए ।
बारा–पर्सा औद्योगिक कोरिडोर र वीरगञ्ज भन्सारबाट दैनिक करिब २ हजार ट्रकमार्फत नेपालका विभिन्न सहरमा सामान ढुवानी हुने गरेको छ ।
पथलैया राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालविरुद्ध मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा ३५ वटा उजुरी परेका छन् । उनको कार्यशैलीमाथि प्रश्न उठेपछि वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।
समितिले सिलवाललाई भदौ १० गतेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ, र भदौ ११ गतेदेखि थप कारबाही अघि बढ्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा पथलैया ट्राफिक व्यवस्थापन कार्यालयले ३ हजार ३ सय ५५ ओभरलोड सवारीमाथि कारबाही गरेको थियो, जुन अघिल्लो वर्षको ४ हजार ८ सय ९२ को तुलनामा १ हजार ५ सय ३२ कम हो । पाँच महिनाअघि पथलैयाको ट्राफिक प्रमुख बनेका सिलवालले चालु आर्थिक वर्षमा जम्मा १ सय ३ ओभरलोड सवारीमाथि कारबाही गरेका छन् ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले गत साउन ११ मा मालवाहक सवारीको भारवहन नियमन निर्देशिका, २०७४ अनुसार ओभरलोड सवारीलाई जरिवाना र मालसामान पल्टी गरेर भार मिलान गर्ने निर्देशन दिए पनि कार्यान्वयन कमजोर देखिएको छ ।
नेपाली ट्रक व्यवसायी र चालकहरूले ओभरलोड भारतीय ट्रकमाथि कडा कारबाही र कानुनी व्यवस्थाको कडाइका साथ पालना गर्न माग गरेका छन् । उनीहरूले ट्राफिक प्रहरीको संलग्नतामाथि पनि निष्पक्ष छानबिन हुनुपर्ने जोड दिएका छन् । विवादले बारा–पर्सा क्षेत्रको ढुवानी व्यवसायमा ठूलो असर पारेको छ, र समाधान नभए आन्दोलन चर्काउने व्यवसायीहरूको चेतावनी छ ।