

काठमाडौं । हाल सामाजिक सञ्जालमा ‘Jholey Trend’ र ‘Expose Jholey’ नामका अभियानहरू चलेका बेला पूर्वमन्त्री महेश बस्नेतले यसको प्रतिकारमा नयाँ अभियान सुरु गर्नुपर्ने विचार सार्वजनिक गरेका छन् ।
बस्नेतका अनुसार विदेशीबाट संरक्षित र काठमाडौंका मेयर बालेन शाहबाट पालितपोषित समूहहरूले राजनीतिक नेतासँग फोटो तथा भिडियो खिच्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन् । उनले भने, “अब राष्ट्रवादी युवाहरूले राष्ट्रको सम्पत्ति नष्ट गर्ने, मान्छे मार्ने र व्यक्तिको सम्पत्ति जलाउन सन्देश फैलाउनेहरूलाई लक्षित गर्दै ‘जल्लाद Trend’ र ‘Expose Jallad’ फेसबुक, टिकटक र इन्स्टाग्राममा सुरु गर्नुपर्छ ।”




उनले यसलाई केवल व्यक्तिगत प्रतिआक्रमण नभई सुरक्षा, शान्ति र राष्ट्रियताको सवाल भएको बताए । बस्नेतले राष्ट्रविरोधी गतिविधिलाई सामाजिक सञ्जालमै पर्दाफास गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री बस्नेत नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् । हाल एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओली उनकै आश्रयमा बस्नेतको गाउँ गुण्डुमा रहेका छन् ।