

नरेशचन्द्र बरबरिया, सिरहा । सिरहा जिल्लाको नेपाल–भारत सीमाक्षेत्रका विभिन्न नाकाहरूमा जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेको छ। समितिको टोलीले आज सिरहा नगरपालिका वडा नं. १७ को पटेर्वा स्थित कमलानदीको बोडर क्षेत्रदेखि माडर, २ नं ढाड, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मका सीमा स्तम्भ र नाकाहरूको अवलोकन गरेको हो।
अनुगमनका क्रममा सीमाक्षेत्रमा हुन सक्ने तस्करी, अवैध गतिविधि र आपराधिक घटनालाई नियन्त्रणमा राख्न सुरक्षाकर्मीहरूसँग संयुक्त छलफल गरिएको थियो। साथै बाढीबाट प्रभावित क्षेत्रका स्थानीयवासीहरूसँग समेत अन्तरक्रिया गरी समस्या र समाधानबारे सुझाव संकलन गरिएको थियो।
माडर बसपार्कमा हुने अबैध यौन गतिविधि र आसपासमा हुने अनैतिक क्रियाकलाप रोक्न निर्देशन दिइएको छ भने दशगजा क्षेत्र अतिक्रमण भएको पाइएकोले सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई आदेश दिइएको छ।
सुरक्षा समितिका अनुसार यस प्रकारको भ्रमणले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल वृद्धि भएको छ र बाँकी सिमानाकाहरूमा पनि अनुगमनको निरन्तरता रहने जनाएको छ।




