
सिरहा । मिर्चैया साना सहरी खानेपानी संस्थाका निर्वाचित पूर्वअध्यक्ष अंजयकुमार साहले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
यस्तो छ उनको धारणा : आदरणीय जनसमुदाय,




समाजिक सञ्जाल लगायत विभिन्न माध्यममा मेरो विरुद्ध उठाइएका प्रश्नहरूबारे म आफ्नो स्पष्ट धारणा राख्न चाहन्छु। सबैभन्दा पहिले—आलोचना गर्नु जनताको अधिकार हो, र म त्यसको पूर्ण सम्मान गर्छु। तर अधूरो जानकारी र एकतर्फी बुझाइका आधारमा निष्कर्ष निकाल्नु उचित हुँदैन। तथ्य र प्रमाणका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ।

मिर्चैया साना सहरी खानेपानी संस्था कुनै व्यक्ति, समूह वा दलको निजी सम्पत्ति होइन। यो मिर्चैया नगरपालिका वडा नं. ४, ५, ६, ७ र ८ का जनताको पसिना, योगदान र विश्वासले बनेको साझा संस्था हो। त्यसैले यसको जवाफदेहिता सिधै जनताप्रति नै हुनुपर्छ भन्ने कुरामा म स्पष्ट छु।
हामीले जिम्मेवारी सम्हाल्दा संस्थालाई सुधार गर्ने लक्ष्य राखेका थियौं। सोहीअनुसार विभिन्न सुधारका कामहरू अघि बढाइयो। अव्यवस्थित रहेका करिब ९०० धारा व्यवस्थापन गरिएको थियो, जसमा करिब ४५० उपभोक्ता दस्तुर तिरेर नियमित ग्राहक बने। इलाका प्रहरी, नगरपालिका भवन, रेडक्रस, सार्वजनिक शौचालय, मिर्चैया आयुर्वेद, वडा कार्यालय लगायत सरकारी संस्थामा निःशुल्क जडान गरिएका धाराहरूलाई हाम्रो पहलमा दर्ता गराई रु. २०,००० का दरले शुल्क तिर्ने व्यवस्था गरियो।
त्यसैगरी, संस्थामा Computerized System लागू गरियो, Online Billing सुरु गरियो, E-sewa मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइयो। Meter Reader ग्राहकको घरमै पुग्दा बिल भुक्तानी गर्न सकिने सुविधा पनि लागू गरियो। अफिस जाने बाटो १२ फिटबाट २० फिटमा विस्तार गरियो र जग्गादातालाई सम्मान गरिएको थियो। उपभोक्तालाई तालिम तथा कृषि औजार उपलब्ध गराइएको थियो। प्रत्येक वडामा सार्वजनिक ट्यांकीमार्फत निःशुल्क धारा सञ्चालन गरियो।
पारदर्शिता र सेवा प्रभावकारिता बढाउने दिशामा सकारात्मक प्रगति भएका छन्। तर सबै कुरा पूर्ण रूपमा सन्तोषजनक भएको दाबी म गर्दिनँ। केही कामहरू आर्थिक अभावका कारण पूरा गर्न सकिएनन्। जहाँ कमजोरी छन्, त्यहाँ समीक्षा गर्दै सुधार गर्ने प्रयास हामीले निरन्तर गरेको थियौं।
वार्षिक साधारण सभा र आर्थिक विवरणबारे उठेका प्रश्नहरूको सन्दर्भमा—हाम्रो कार्यकालमा कोभिड-१९ महामारीका कारण दुई पटक अवरोध आएको थियो। साथै, स्वर्गीय पाले किशोर रायको हत्या जस्ता संवेदनशील घटनाले पनि संस्थाको गतिविधिमा प्रभाव पारेको थियो। यी कारणले समयमै साधारण सभा हुन सकेन। तर संस्थासँग सम्बन्धित सबै आर्थिक विवरण र Audit Report उपलब्ध छन्, जो कसैले पनि हेर्न सक्ने अवस्था छ।
पालिका हस्तक्षेपको विषयमा पनि वास्तविकता स्पष्ट हुनु आवश्यक छ। पुर्ब अध्यक्ष रामलोचान साहको कार्यकालमा नगर प्रमुख श्रवण यादवबाट समिति प्रभावित पार्ने प्रयास भएको विषय सर्वविदित छ। त्यसपछि गैरकानुनी रूपमा समिति विघटन गरी नगरपालिका मार्फत चुनावी समिति गठन गरियो। यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी परेपछि सहमतिमा चुनाव प्रक्रिया अघि बढाइएको थियो, र त्यही प्रक्रियाबाट हाम्रो समिति निर्वाचित भएको थियो।
संस्थाको विधान अनुसार कार्यकाल २+१ गरी ३ वर्षको हुने व्यवस्था छ। तर अघिल्ला समितिहरूले यो बिधान कति पालना गरे भन्ने गम्भीर प्रश्न उठ्छ—कोही ७ वर्षसम्म पदमा बस्ने, कोही २ वर्ष कुन आधारमा चल्यो? यसबारे स्पष्ट जवाफ आवश्यक छ।
हाम्रो कार्यकालमा विभिन्न अवरोधका बीच पनि करिब ३.५ करोड रुपैयाँ बराबरका योजनाहरू टेण्डर भई कार्यान्वयनको चरणमा थिए। तर अचानक नगर कार्यपालिकाबाट “समितिको अवधि सकिएको” भन्दै समिति विघटन गरियो। जबकि विधान अनुसार नगरपालिकाले निर्वाचित समितिलाई साधारण सभा वा चुनाव गर्न निर्देशन दिन सक्थ्यो।
त्यो अवस्थामा हामी कानुनी उपचारमा जान सक्थ्यौं। तर जननिर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षर रहेको अवस्थामा संस्थाको पैसामा मुद्दा लडेर पदमा बसिरहनु उचित नठानी हामीले त्यो बाटो रोजेनौं।
अहिले हामीले जिम्मेवारी छोडेको एक वर्षभन्दा बढी भइसकेको छ। संस्थाको नेतृत्व स्वयं नगर प्रमुख श्रवण यादवले सम्हाल्नुभएको छ। तर अझैसम्म वार्षिक साधारण सभा किन भएको छैन? कति बजेट आयो, कुन योजना कार्यान्वयन भए, के सुधार भए—यी सबै विषयमा जनतालाई जानकारी दिनु आवश्यक छ।
साथै, संस्थाका सवारी साधनहरू—जस्तै ट्र्याक्टर र स्कार्पियो—नगरपालिका काममा प्रयोग भइरहेको देखिएको छ। यसबारे पनि स्पष्टता आवश्यक छ।
अन्त्यमा, यो लडाइँ कुनै व्यक्ति, पद वा दलको होइन। यो संस्थाको विश्वसनीयता र जनताको विश्वाससँग जोडिएको विषय हो। त्यसैले म खुला प्रस्ताव राख्न चाहन्छु—एउटा सार्वजनिक सभा गरौं, जहाँ सबै पक्ष उपस्थित भई तथ्य र प्रमाणका आधारमा खुला बहस गरियोस्।
हामी त्यसका लागि पूर्ण रूपमा तयार छौं।
जनतालाई सत्य र स्पष्ट जवाफ दिनु हाम्रो कर्तव्य हो, र हामी यो जिम्मेवारीबाट पछि हट्ने छैनौं।