
काठमाडौं । समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका श्री जनता नमूना उच्च माध्यमिक विद्यालय गिद्धा–बेलापट्टीका प्राध्यापक डा. पवनकुमार मण्डललाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान गरिएको छ ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सिजन मिडियाद्वारा आयोजित विशेष कार्यक्रममा डा. पवनकुमार मण्डललाई सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।
शिक्षा, समाजसेवा तथा जनचेतनामूलक अभियानमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय डा. मण्डललाई यस अवार्डले थप प्रेरणा दिएको बताइएको छ । कार्यक्रममा सामाजिक अभियन्ता, विभिन्न पेशागत क्षेत्रका प्रतिनिधि तथा संघसंस्थाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित भई डा. मण्डलसहित विभिन्न व्यक्तित्वलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए ।
आयोजक सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले समाजमा सकारात्मक परिवर्तन ल्याउने व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।



