
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरस्थित प्रदेश प्रहरी कार्यालय यतिबेला आन्तरिक विवादको केन्द्रमा देखिएको छ । प्रदेशका आठवटै जिल्लाको सुरक्षा संयन्त्र सम्हाल्ने यो कार्यालयभित्र ‘लाइन’ खोल्ने विषयलाई लिएर टकराव उत्पन्न भएको छ ।
प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाले जिल्लागत प्रहरी प्रमुखहरूलाई ‘लाइन’ खुलाउन निर्देशन दिएको आरोप छ । तर, उक्त निर्देशनलाई केही प्रहरी उपरीक्षक (एसपी) हरूले अस्वीकार गरेपछि अवस्था झन् जटिल बन्दै गएको बताइन्छ ।




विशेषगरी जिल्ला प्रहरी कार्यालय धनुषा र पर्साका एसपी र डिआईजी थपलियाबीच सम्बन्ध चिसिएको चर्चा छ । स्रोतका अनुसार, ‘लाइन’ खोल्न अस्वीकार गरेपछि एसपीद्वयमाथि प्रत्यक्ष र अप्रत्यक्ष दबाब बढाइएको छ ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत दुईजना नायब निरीक्षक (सई) गोपाल थापा मगर र जयलाल यादवले पटक–पटक जिल्ला प्रहरी कार्यालय धाएर ‘लाइन’ खुलाउन आग्रह गर्ने गरेका छन् ।
‘डिआइजी साब तयार हुनुहुन्छ, अब हजुरले ढिला गर्नु भएन,’ भन्ने सन्देश लिएर उनीहरू एसपीको कार्यकक्षमै पुग्ने गरेको एक प्रहरी स्रोतले जनाएको छ ।
तर, एसपीहरु भने आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘कुनै पनि हालतमा लाइन खुल्दैन,’ भन्ने स्पष्ट सन्देश उनले दिएका छन् । त्यसपछि धनुषा र पर्साबाट हुने कतिपय समन्वय र सम्पर्कमा समेत अवरोध आएको बताइन्छ ।
यो विवाद यी दुई जिल्लामै सीमित छैन । अन्य जिल्लाहरूमा पनि ती दुई सईको प्रभाव देखिएको र उनीहरूले जिल्लाजिल्ला पुगेर रकम संकलन गर्ने जिम्मेवारी पाएको आरोप छ । स्रोतहरूका अनुसार, ‘लाइन’ सञ्चालनसँगै आर्थिक संकलनको समानान्तर संरचना समेत सक्रिय रहेको आशंका गरिएको छ ।
अझ, सप्तरी जिल्लाका एसपी गौतम केसीजस्ता इमान्दार अधिकृतसँग समेत डिआईजी थपलियाले ‘लाइन’ सम्बन्धी कुरा उठाएको चर्चा छ । यसले प्रदेश प्रहरी संगठनभित्रै ‘लाइन’ प्रणालीलाई संस्थागत बनाउन खोजिएको संकेत गर्ने केही अधिकारीहरूको भनाइ छ ।
यद्यपि, यी गम्भीर आरोपबारे प्रदेश प्रहरी कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर, प्रहरी संगठनभित्र उठेका यस्ता विषयले संस्थाको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।
दुई सईले मधेसमा कसरी राजगज गरिरहेका छन्? त्यो अर्को श्रृङ्खलामा।।